बाराको सिमरा रंगशालामा आजदेखि प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। मधेश खेलकुद परिषदको आयोजनामा सुरु भएको प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले जिल्ला स्तरको छनोट प्रक्रिया पूरा भइसकेको र अब प्रदेश स्तरबाट राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डका लागि उत्कृष्ट खेलाडी छनोट गरिने बताए।
उनका अनुसार मधेश प्रदेशमा खेलकुदको वातावरण विस्तार हुँदै गएको छ र यस्ता प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
“प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई सुरक्षित र उत्साहित बनाउन यस वर्ष खेलकुद परिषदले खेलाडीहरूको बिमा समेत गरेको छ,” सदस्य सचिव कानुले बताए। खेलाडी सुरक्षालाई प्राथमिकतामा राख्दै पहिलो पटक बिमा कार्यक्रम लागू गरिएको उनले जानकारी दिए।
प्रतियोगितामा मधेश प्रदेशका आठै जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको सहभागिता रहनेछ। ६ विधामा सञ्चालन हुने प्रतियोगितामा कुल ८२४ जना सहभागी हुने जनाइएको छ।
सिमरा रंगशालामा पहिलो पटक प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना हुन लागेको भन्दै यसले रंगशालाको पहिचान र गौरवलाई अझ उचाइमा पुर्याउने विश्वास लिइएको छ।
करिब ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका पूर्व खेलकुद मन्त्री प्रमोद जयसवालले गर्ने कार्यक्रम रहेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्