बारा । ‘एक्स्ट्रीम छैठौं जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३’ को उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लबले विजयी सुरुआत गरेको छ ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा रंगशालामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सिमरा भेट्रान क्लबले स्टार स्पोर्ट युवा क्लब माडी (चितवन) लाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
‘नारीको आत्म सम्मानसँगै राष्ट्र र स्वास्थ्यको लागि खेलकुद गरौँ र खेलौं’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा आयोजक टोलीले सुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्दै ३ गोल गर्न सफल भयो । जितसँगै सिमरा भेट्रान क्लबले प्रतियोगितामा महत्वपूर्ण ३ अंक जोडेको छ ।
महिला फुटबलको विकास तथा प्रवर्द्धन गर्नुका साथै महिला खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको छ ।
असोज २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेल फ्लडलाइटमा साँझ ६ बजेदेखि खेलाइने छन् । प्रतियोगितामा नेपालका विभागीय तथा क्लब टोलीसँगै भारतका टोली गरी ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, स्टार स्पोर्ट युवा क्लब माडी (चितवन), फेयर फुटबल क्लब (धरान), कुर्साङ गोल्स फुटबल क्लब (दार्जिलिङ, भारत), झारखण्ड स्टेट स्पोर्ट्स प्रमोशन सोसाइटी (झारखण्ड, भारत) र आयोजक सिमरा भेट्रान क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो चार खेलका लागि ५० रुपैयाँ, सेमिफाइनलका लागि १ सय रुपैयाँ र फाइनलका लागि २ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।
आयोजकका अनुसार टिकट बिक्रीबाट संकलित रकमको १० प्रतिशत रकम रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रीम इनर्जी ड्रिङ्क्स रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका तथा नगरका २४ वटै वडा कार्यालय मुख्य सहयोगीका रूपमा रहेका छन् । नेपाल लुब आयल, हुलास स्टील र नेपोभिट टाइल्स को-स्पोन्सरका रूपमा जोडिएका छन् ।
त्यसैगरी, जगदम्बा स्टील, मार्बी इन्जिनियरिङ, सिमरा अटो जोन, क्लासिक इन्डस्ट्रिज, हिमालयन डिस्टिलरीलगायत विभिन्न व्यावसायिक प्रतिष्ठानले प्रतियोगितामा सहयोग तथा साझेदारी गरेका छन् ।
प्रतियोगितामा बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, इन्टरनेट, बीमा, टिकटिङ, प्रसारण, प्रवर्द्धन तथा फिटनेस क्षेत्रका संस्थासमेत साझेदारका रूपमा जोडिएका छन् ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्