ललितपुर। लायन्स इन्टरनेशनलको पीस पोस्टर प्रतियोगिता २०२६–२०२७ को स्थानीय चरण आगामी नोभेम्बर ४ (कात्तिक १८ गते) ललितपुरमा आयोजना हुने भएको छ। ‘मानवतामा सद्भाव’ (Harmony in Humanity) विषयमा केन्द्रित प्रतियोगितामा २५ भन्दा बढी विद्यालयका विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ।
ललितपुरको लगनखेलस्थित बसपार्क नजिक रहेको उन्नति माध्यमिक विद्यालयमा बिहान १० बजेदेखि प्रतियोगिता सञ्चालन हुनेछ। लायन्स डिस्ट्रिक्ट ३२५ के अन्तर्गत LCK टेम्पल सिद्धिविनायकले उन्नति माध्यमिक विद्यालय र एकेडेमिक एण्ड लर्निङ एचिभमेन्ट थ्रु रियल म्यानेजमेन्ट (ALARM) नेपालको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो।
प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका बालबालिकाले चित्रकलामार्फत शान्ति, सहिष्णुता, सहअस्तित्व र मानवताप्रतिको आफ्नो बुझाइ प्रस्तुत गर्नेछन्। बालबालिकामा सिर्जनात्मक क्षमता विकास गर्नुका साथै शान्ति र अन्तर्राष्ट्रिय समझदारीको भावना प्रवर्द्धन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। विश्वभरबाट प्रत्येक वर्ष ६ लाखभन्दा बढी बालबालिका यस प्रतियोगितामा सहभागी हुने गरेका छन्।
पीस पोस्टर कार्यक्रमकी प्रमुख लायन प्रणिमा वैद्य जोशीले प्रतियोगिता चित्रकला प्रतिस्पर्धामा मात्र सीमित नभई बालबालिकाको मनमा शान्ति, सहअस्तित्व र मानवताको भावना विकास गर्ने माध्यम भएको बताइन्। रङ र रेखामार्फत आफ्ना विचार व्यक्त गर्दा बालबालिकाले शान्तिको अर्थ बुझ्ने र त्यसप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने अवसर पाउने उनको भनाइ छ।
आजका बालबालिका भोलिका नेता र जिम्मेवार नागरिक भएकाले सानै उमेरदेखि उनीहरूमा सद्भाव र सहिष्णुताको भावना विकास गर्नु महत्त्वपूर्ण रहेको जोशीले बताइन्। बालप्रतिभालाई उजागर गर्ने मञ्च उपलब्ध गराउन पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले प्रतियोगिताले बालबालिकाको सिर्जनशीलतालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन्।
प्रतियोगितामा नेपाली कलाक्षेत्रका वरिष्ठ कलाकार वत्सगोपाल वैद्य प्रधान अतिथि तथा प्रमुख निर्णायकका रूपमा सहभागी हुनेछन्। सन् १९४६ मा ललितपुरमा जन्मिएका वैद्य नेपाली आधुनिक कलाका अग्रणी कलाकारमध्ये एक हुन्। पाँच दशकभन्दा लामो कला यात्रामा उनले परम्परागत हिन्दु तथा बौद्ध प्रतीकलाई अमूर्त र अतियथार्थवादी शैलीसँग संयोजन गर्दै आफ्नो कलात्मक पहिचान स्थापित गरेका छन्।
प्रतियोगितामा सहभागी हुन कुनै दर्ता वा प्रवेश शुल्क लाग्ने छैन। पोस्टरको आकार न्यूनतम १३ × २० इन्च (३३ × ५० सेन्टिमिटर) र अधिकतम २० × २४ इन्च (५० × ६० सेन्टिमिटर) हुनुपर्नेछ। स्थानीय चरणमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय चरणमा छनोट भएको उत्कृष्ट पोस्टरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्याङ्कनमा अघि बढ्ने अवसर पाउनेछ। अन्तर्राष्ट्रिय ग्रान्ड पुरस्कार विजेताले ५ हजार अमेरिकी डलर, सम्मान चिह्न र पुरस्कार वितरण समारोहमा सहभागी हुन यात्रा सुविधा प्राप्त गर्नेछन्। त्यस्तै, २३ जना मेरिट अवार्ड विजेताले जनही ५०० अमेरिकी डलर र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालय तथा विद्यार्थीले आयोजकको आधिकारिक फेसबुक पेजमार्फत सम्पर्क गर्न वा यहाँ क्लिक गरेरआवश्यक जानकारी लिन तथा दर्ता गर्न सक्नेछन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्