Wednesday, October 28, 2026
बुधबार, कार्तिक १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.49 SELL AUD/NPR 105.38 SELL BHD/NPR 403.55 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमराका निजी विद्यालय सञ्चालकको गुनासो : राज्यबाटै विभेदकारी व्यवहार

जीतपुरसिमरा। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका संस्थागत विद्यालयका सञ्चालकहरूले निजी विद्यालयमाथि राज्यले विभेदकारी व्यवहार गर्दै आएको गुनासो गरेका छन्। शैक्षिक गुणस्तर सुधार र रोजगारी सिर्जनामा योगदान पुर्‍याउँदै आएका संस्थागत विद्यालयलाई छात्रवृत्तिलगायतका विषयमा समान व्यवहार नगरिएको उनीहरूको भनाइ छ।

सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरूको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका–१५, डुमरवानास्थित बेङ्गाई रिभर रिसोर्टमा बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा विद्यालय सञ्चालकहरूले यस्तो गुनासो गरेका हुन्।

कार्यक्रममा बोल्दै बारा एकेडेमीका सञ्चालक एवं जीतपुरसिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष हरिदेव खरेलले संस्थागत विद्यालयले सीमित शुल्कमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। उनले उपमहानगरभित्रका सामुदायिक विद्यालयको नतिजा २० देखि २५ प्रतिशतको हाराहारीमा रहँदा संस्थागत विद्यालयले न्यूनतम ४५ प्रतिशतदेखि ९८ प्रतिशतभन्दा बढी नतिजा हासिल गरिरहेको दाबी गरे।

खरेलका अनुसार संस्थागत विद्यालयले स्थानीय किसान, मजदुर तथा न्यून आय भएका परिवारको आर्थिक अवस्थालाई ध्यानमा राखेर न्यून शुल्कमा शिक्षा प्रदान गर्नुका साथै रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउँदै आएका छन्। तर, राम्रो शैक्षिक नतिजा हासिल गर्दा पनि राज्यले संस्थागत विद्यालयलाई समान दृष्टिकोणले नहेरेको उनले गुनासो गरे।

“संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षकले न्यूनतम १५ हजारदेखि ५० हजार रुपैयाँसम्म तलब पाइरहेका छन्। सामुदायिक विद्यालयका शिक्षकको तलब भने न्यूनतम ४० हजार रुपैयाँभन्दा माथि छ,” खरेलले भने, “संस्थागत विद्यालयले उत्कृष्ट नतिजा दिँदा पनि राज्यको व्यवहार विभेदपूर्ण देखिएको छ।”

विभिन्न चुनौतीका बाबजुद संस्थागत विद्यालयले शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भए पनि पढ्ने इच्छा र क्षमता भएका विद्यार्थीलाई अवसर दिनुपर्नेमा जोड दिए। देशका ७५३ स्थानीय तहमध्ये जीतपुरसिमराका संस्थागत विद्यालयले अझ परिणाममुखी भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै, एन प्याब्सनका केन्द्रीय सदस्य एवं लोटस एकेडेमीका संस्थापक रामप्रसाद अधिकारीले संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्तिबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताए। संस्थागत विद्यालयमा अध्ययन गरेको आधारमा विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन दिनसमेत रोक लगाउनु राज्यको विभेदकारी नीतिको उदाहरण भएको उनले टिप्पणी गरे।

जीतपुरसिमरा निजी विद्यालय संगठनका अध्यक्ष बसन्त ढकालले संस्थागत विद्यालय शैक्षिक क्षेत्रमा तुलनात्मक रूपमा अगाडि रहे पनि सुधार गर्नुपर्ने पक्षहरू अझै धेरै रहेको बताए। बारामा जीतपुरसिमराका संस्थागत विद्यालय अगाडि रहेको उल्लेख गर्दै उनले आफूभन्दा पछाडि रहेका विद्यालयसँग मात्र तुलना गरेर सन्तुष्ट हुनुभन्दा अझ उत्कृष्ट शैक्षिक संस्थासँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।

ढकालले शैक्षिक गुणस्तर सुधार, संस्थागत विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन विद्यालय सञ्चालक र प्रधानाध्यापकले थप ध्यान दिनुपर्ने बताए।

दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका विभिन्न संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। कार्यक्रमले विद्यालयहरूबीच आपसी सद्भाव, सहकार्य र शैक्षिक अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्