Wednesday, October 28, 2026
बुधबार, कार्तिक १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.49 SELL AUD/NPR 105.38 SELL BHD/NPR 403.55 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

मधेशमा उच्च शिक्षाको सुधारसँगै विश्वस्तरीय शैक्षिक संस्था निर्माण गर्ने सरकारको योजना

बारा । मधेश प्रदेशमा उच्च शिक्षाको सुधार, राष्ट्रिय योग्यता प्रारुपको कार्यान्वयन तथा उच्च शिक्षाको भविष्यबारे बाराको सिमरामा उच्चस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा युनेस्को नेपालको सहकार्यमा असोज १९ र २० गते आयोजित दुईदिने कार्यक्रममा मधेश प्रदेशको उच्च शिक्षाको वर्तमान अवस्था, चुनौती तथा सुधारका उपायबारे विभिन्न सरोकारवालाबीच छलफल गरिएको हो ।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशबाट ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौंलगायतका क्षेत्रमा जाने गरेको बताउनुभयो । प्रदेशमै गुणस्तरीय इन्जिनियरिङ शिक्षा उपलब्ध गराउन आवश्यक पूर्वाधार र शैक्षिक संस्था निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री पोखरेलले मधेश प्रदेशमा गुणस्तरीय इन्जिनियरिङ कलेज तथा आवश्यक शैक्षिक पूर्वाधारको अभावका कारण विद्यार्थीहरू उच्च शिक्षाका लागि बाहिर जानुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । प्रदेशमै प्रतिस्पर्धी शैक्षिक संस्था स्थापना गर्न सके विद्यार्थी पलायन घट्नुका साथै मधेशको शैक्षिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।

सरकारले महोत्तरीमा गुणस्तरीय कलेज स्थापना गर्ने तयारी अघि बढाएको जानकारी दिँदै मन्त्री पोखरेलले त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र आवश्यक प्रक्रिया अघि बढिरहेको बताउनुभयो ।

उहाँका अनुसार सरकारले मधेश प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार गर्दै स्थानीय आवश्यकता र रोजगारी बजारसँग जोडिने गरी उच्च शिक्षा विकास गर्ने नीति अघि सारेको छ ।

मन्त्री पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको चाहनाअनुसार मधेश प्रदेशमा एक सय वटा ‘वल्र्ड क्लास’ तहका विद्यालय निर्माण गर्ने योजना रहेको समेत जानकारी दिनुभयो । नयाँ विद्यालय स्थापना गर्नुका साथै सञ्चालनमा रहेका विद्यालयमा आवश्यक पूर्वाधार, प्रविधि र शैक्षिक गुणस्तर सुधार गरी विश्वस्तरीय बनाउने सरकारको योजना रहेको उहाँले बताउनुभयो ।

विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई गुणस्तरीय, सीपमूलक, प्रविधिमैत्री र रोजगारमुखी बनाउनुपर्नेमा जोड दिँदै उहाँले बदलिँदो समय र आवश्यकताअनुसार शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा उच्च शिक्षा क्षेत्रका विज्ञ, शिक्षाविद्, विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधि, सरकारी निकायका अधिकारीलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने २६ जना प्रतिनिधि सभा सदस्यसमेत सहभागी भएका थिए । राष्ट्रिय योग्यता प्रारुपमार्फत विभिन्न तहका शैक्षिक योग्यता तथा सीपलाई व्यवस्थित र समकक्षीकरण गर्ने विषयमा समेत छलफल गरिएको थियो ।

मधेश प्रदेशको उच्च शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक नीति, पूर्वाधार तथा दक्ष जनशक्ति विकासका विषयमा संवाद केन्द्रित रहेको आयोजकले जनाएको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्