बारा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मधेश प्रदेशअन्तर्गतको उद्योग समितिको सभापतिमा मनोनीत भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष विजय कुमार साहले २०८३ असोज १९ गते पत्र जारी गर्दै गुप्तालाई उद्योग समितिको सभापतिमा मनोनीत गरिएको जानकारी दिएका हुन्।
महासंघको मधेश प्रदेश कार्यकारिणी समितिको २०८३ भदौ ५ गते बसेको बैठकको निर्णयअनुसार गुप्तालाई उक्त जिम्मेवारी प्रदान गरिएको पत्रमा उल्लेख छ।
औद्योगिक क्षेत्रमा गुप्ताले हासिल गरेको दीर्घकालीन अनुभव, ज्ञान तथा यस क्षेत्रको विकासमा पुर्याएको योगदानलाई मध्यनजर गर्दै उनलाई जिम्मेवारी प्रदान गरिएको महासंघले जनाएको छ।
गुप्ताको नेतृत्वमा उद्योग समितिले मधेश प्रदेशभित्रका उद्योग तथा व्यवसायको संरक्षण, प्रवर्द्धन र विकासका लागि आवश्यक नीति निर्माण, समन्वय तथा सुझाव दिने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास महासंघले व्यक्त गरेको छ।
महासंघले गुप्तालाई नयाँ जिम्मेवारी स्वीकार गर्दै सक्रिय नेतृत्व प्रदान गर्न आग्रहसमेत गरेको छ।
गुप्ताको मनोनयनले मधेश प्रदेशको औद्योगिक क्षेत्रका समस्या पहिचान, उद्योगी व्यवसायीका हितको संरक्षण तथा औद्योगिक विकासका लागि नीतिगत पहल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्