Wednesday, October 28, 2026
बुधबार, कार्तिक १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.49 SELL AUD/NPR 105.38 SELL BHD/NPR 403.55 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 283200.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
खेलकुद

सिमरामा असोज १० देखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता, विजेताले ५ लाख ११ हजार १११ पाउने

बारा । सिमरा भेट्रान क्लबको आयोजनामा ‘एक्स्ट्रीम जितपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिता असोज १० गतेदेखि १७ गतेसम्म सिमरा रंगशालामा सञ्चालन हुनेछ।

महिला फुटबलको विकास तथा प्रवर्द्धन, महिला खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र खेलकुदमार्फत स्वास्थ्य, अनुशासन तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका सम्पूर्ण खेल सिमरा रंगशालाको फ्लडलाइटमा साँझ ६ बजेदेखि सञ्चालन हुनेछन्। प्रतियोगितामा नेपालका विभागीय तथा क्लब टोलीसँगै भारतका टोली गरी ८ टोलीको सहभागिता रहनेछ।

प्रतियोगितामा एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, फेयर फुटबल क्लब धरान, कुर्साङ गोल्स फुटबल क्लब दार्जिलिङ, बसन्तपुर युनाइटेड फुटबल क्लब चितवन, झारखण्ड स्टेट स्पोर्ट्स प्रमोशन सोसाइटी र आयोजक सिमरा भेट्रान क्लब सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले रु. ५ लाख ११ हजार १११ तथा उपविजेताले रु. २ लाख ५५ हजार ५५५ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु. १ लाख प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही रु. १० हजार, इमर्जिङ प्लेयरलाई रु. ५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ५ हजार पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रीम ड्रिङ्क्स रहेको छ। जीतपुरसिमरा उपमहानगरपालिका र नगरका २४ वटै वडा कार्यालय मुख्य सहयोगीका रूपमा रहेका छन्। नेपाल लुब आयल, हुलास स्टील र नेपोभिट टाइल्स को-स्पोन्सरका रूपमा जोडिएका छन्।

त्यस्तै जगदम्बा स्टील, मार्बी इन्जिनियरिङ, सिमरा अटो जोन, क्लासिक इन्डस्ट्रिज, हिमालयन डिस्टिलरीलगायत विभिन्न व्यवसायिक प्रतिष्ठानले प्रतियोगितामा सहयोग तथा साझेदारी गरेका छन्।

प्रतियोगिताका लागि विभिन्न बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, इन्टरनेट, बीमा, टिकटिङ, प्रसारण, प्रवर्द्धन तथा फिटनेस क्षेत्रका संस्थाहरू पनि साझेदारका रूपमा जोडिएका छन्।

आयोजक सिमरा भेट्रान क्लबले महिला फुटबलको विकाससँगै सिमरालाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ। प्रतियोगितालाई सफल बनाउन खेलाडी, स्थानीय सरकार, प्रायोजक, सहयोगी संस्था, खेलप्रेमी तथा सञ्चारमाध्यमको सहकार्य आवश्यक रहेको क्लबले जनाएको छ।

प्रतियोगिताको नारा ‘नारीको आत्मसम्मानसँगै राष्ट्र र स्वास्थ्यको लागि खेलकुद गरौँ’ रहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्