Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमाको माग

रौतहटमा गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले विभिन्न इँटा उद्योगमा ठूलो क्षति पुर्‍याएको छ। जिल्लाभर सञ्चालनमा रहेका ५० भन्दा बढी इँटा उद्योगका लाखौँ मूल्यबराबरका काँचो इँटा नष्ट भएका हुन्।

इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रामविनोद साहका अनुसार वर्षाका कारण करिब ५० उद्योग प्रभावित भएका छन्। उनका अनुसार करिब एक करोड ५० लाखभन्दा बढी काँचो इँटा नष्ट हुँदा कुल क्षति करिब साढे चार करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ। एक काँचो इँटा उत्पादन गर्न औसतमा तीन रुपैयाँभन्दा बढी लागत लाग्ने उनले बताए।

बिके, वीर, पूजा, एमबिआई, सोना र रामजानकीलगायतका उद्योगमा वर्षाले क्षति पुर्‍याएको हो। गरुडा–५ महम्मदपुरस्थित एसपिएल इँटा उद्योगका सञ्चालकसमेत रहेका साहले काँचो इँटा खुला स्थानमा सुकाउने क्रममा वर्षाले नष्ट गरेको बताए।

इँटा व्यवसायीहरूले काँचो इँटाको पनि बीमा व्यवस्था गर्न माग गरेका छन्। इँटा व्यवसायी महासङ्घका केन्द्रीय सदस्य मोहन साहले बेमौसमी वर्षाका कारण व्यवसायीहरू पलायन हुने अवस्था आएको भन्दै बीमा प्रणाली लागू गर्न सरकारसँग आग्रह गरे। गुजरा–७ स्थित रामजानकी इँटा उद्योगका सञ्चालकसमेत रहेका उनले बीमा व्यवस्था भए प्राकृतिक विपत्तिबाट राहत मिल्ने बताए।

यस्तै, राधाकृष्णा इँटा उद्योगका सञ्चालक प्रेमशङ्कर यादवले पनि आफ्नो उद्योगमा लाखौँ मूल्यबराबरको क्षति भएको गुनासो गरे।

जिल्लामा १६० इँटा उद्योग दर्ता भए पनि हाल ५७ वटा मात्र सञ्चालनमा छन्। पछिल्लो समय उद्योग बन्द हुने क्रम बढ्दै गएको छ। गत वर्ष पनि बेमौसमी वर्षाले इँटा उद्योगमा क्षति पुर्‍याएको थियो, तर काँचो इँटाको बीमा नहुँदा व्यवसायीहरू मारमा परिरहेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्