२५ माघ, मुम्बई। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले इंग्ल्यान्डविरुद्ध बलियो लक्ष्य पाएको छ।
वाङ्खडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए। कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन जोडे। विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए, जसमा १ चौका र ४ छक्का समावेश छन्।
नेपालका बलिङमा दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए। ओपनर फिल साल्टलाई शेर मल्लले आफ्नो पहिलो बलमै आउट गराएका थिए। बेथेल र ब्रूकले ५७–३ को स्थितिमा चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिश इनिङ्स सम्हाले।
शेर मल्लले टी-२० विश्वकपबाटै नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन्। यसै खेलमा आरिफ शेख, लोकेश बम र नन्दन यादवले पनि टी-२० विश्वकपमा डेब्यु गरेका थिए। दुई विश्वकप खेलेका सोमपाल कामी भने इंग्ल्यान्डविरुद्ध बेन्चमा बसेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्