रौतहटको गरुडा नगरपालिका–५ झाझपुलस्थित एक मदिरा पसलबाट कटुवा पेस्तोल, गोली, नगद र नाइट्राभेट ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–९ गम्हरिया बिर्ताका ४२ वर्षीय सदरे आलम रहेका छन्।
प्रहरीका अनुसार स्थानीय गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा शङ्कास्पद अवस्थामा रहेका आलमको शरीर खानतलासी गर्दा उनको कम्मरमा एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोल फेला परेको थियो।
प्रारम्भिक सोधपुछका क्रममा आलमले मदिरा पसलको पछाडि रहेको खेतको झ्याङमा थप गोली र नगद लुकाएर राखेको स्वीकार गरेका थिए। त्यसपछि प्रहरीले उक्त स्थानमा खोजतलास गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने चार थान लाइभ राउण्ड गोली, एक थान ब्ल्याङ्क राउण्ड गोली, कालो रङको पर्सभित्र रहेको भारतीय २४ हजार ५ सय रुपैयाँ, नेपाली ३२ हजार ५ सय रुपैयाँ तथा दुई पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको जनाएको छ।
बरामद गरिएका हतियार, गोली, नगद र ट्याब्लेट नियन्त्रणमा लिई प्रहरीले सदरे आलममाथि हतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्