रौतहटको सदरमुकाम गौरस्थित एक होटलमा २२ वर्षीया युवतीलाई बन्धक बनाई सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक नेपालीसहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–२ का २५ वर्षीय सन्तोष राउत तथा भारतको बिहार राज्य मजफरपुर जिल्लाको कल्याणी पञ्चायत–२४ का ३३ वर्षीय मो. ताजुदिन, मैरोवन पञ्चायत–२ का ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पञ्चायत–१ का ३८ वर्षीय हसनैन आलम र पञ्चायत–४ का ३४ वर्षीय आलोक कुमार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतबार दिउँसो गौरस्थित होटल सुष्मा प्यालेसमा एक युवतीलाई बन्धक बनाएर सामूहिक रूपमा जबर्जस्ती करणी भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलबाटै पाँचै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पीडित युवतीको जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडितको प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्