राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि जारी निर्वाचन प्रक्रियामा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
मधेस प्रदेशबाट प्रभावशाली युवा नेताका रूपमा परिचित यादवले महाधिवेशनमार्फत पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्। चितवनमा जारी रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भइरहेका बेला यादवले पनि खुल्ला मधेसी कोटाबाट प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
भारतको प्रतिष्ठित शैक्षिक संस्था आईआईटी मद्रासबाट एमटेक अध्ययन पूरा गरेका इन्जिनियर यादवलाई पार्टीभित्र प्राज्ञिक तथा युवा नेतृत्वको प्रतिनिधिका रूपमा हेरिने गरिएको छ। उनले आफ्नो उम्मेदवारीसँगै नीतिगत स्पष्टता, समावेशी विकास र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यादवले ‘नयाँ सोच, सामाजिक समृद्धि, समानता र परिवर्तनको प्रतिबद्धता, मधेसको सम्मान र समावेशी पहिचान’ लाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। उनले मधेसी समुदायको सम्मान, पहिचान र राष्ट्र निर्माणमा युवाको सक्रिय भूमिकालाई थप सशक्त बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।
रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला यादवको उम्मेदवारीले मधेस केन्द्रित नेतृत्व र प्राविधिक पृष्ठभूमिका युवाको प्रतिनिधित्वलाई बलियो बनाउने अपेक्षा गरिएको छ। उनले आफूलाई मतदान गरी विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल समेत गरेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्