वीरगन्ज, ११ असोज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा चोरी गर्ने क्रममा ६२ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय राज कपुर बैठा र १८ वर्षीय रामु पासवान रहेका छन्।
प्रहरीका अनुसार गत असोज ४ गते आइतबार राति धोबिनीका श्रीनिवास साह तुराहाको घरमा चोरी भएको थियो। सोही क्रममा उनकी पत्नी ६२ वर्षीया लखरजिया देवीको हत्या भएको थियो। घरबाट नगद रकम तथा सुनका गरगहना चोरी भएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा तीनै जनाले बैठाको घरमा गाँजा सेवन गरी चोरी गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू मृतकको घरको पछाडिको पर्खालबाट चढेर माथिल्लो तलाको झ्यालबाट घरभित्र प्रवेश गरेका थिए।
घरभित्र प्रवेश गरेपछि उनीहरूले स्टिलको दराज फोडेर नगद तथा गरगहना चोरी गरेका थिए। त्यसपछि अर्को कोठामा रहेको टिनको बाकसको ताल्चा फुटाउने क्रममा तोडफोडको आवाज सुनेर लखरजिया देवी ब्युँझिएकी थिइन्।
प्रहरीका अनुसार लखरजिया देवी माथिल्लो तलामा पुगेपछि तीनै जनाले फलामको धारिलो वस्तुले प्रहार गरी उनको हत्या गरेका थिए। त्यसपछि उनीहरूले नगद तथा गरगहना लिएर फरार भएका थिए।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले पटेललाई शुक्रबार वीरगन्जबाट तथा बैठा र पासवानलाई शनिबार धोबिनी गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
पक्राउ परेकाहरूको साथबाट चोरी भएको रकम तथा सुनका गरगहनाका साथै गाडीको स्प्रिङ पत्ता १ थान, पिलास १ थान र चक्कु १ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
तीनै जनालाई प्रहरी हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्