Sunday, September 13, 2026
आइतबार, भाद्र २८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.07 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
मनोरञ्जन

मेनुका राई र नबिन राईको स्वरमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

काठमाडौं । गायिका मेनुका राई र गायक नबिन राईको संयुक्त स्वरमा तयार गरिएको नयाँ गीत ‘उधौली र उभौली साकेला’ सार्वजनिक भएको छ। गीतकार चन्द्र जयपाल राईको शब्द र नबिन राईकै संगीतमा बनेको यस गीतले किरात समुदायको मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

 

गीतको विषयवस्तु किरात समुदायको प्रमुख सांस्कृतिक चाड उधौली र उभौलीसँग जोडिएको छ। प्रकृति, भूमि र पुर्खाप्रति श्रद्धा व्यक्त गर्दै मनाइने यी पर्वहरूको सांस्कृतिक महत्व गीतमार्फत जीवन्त रूपमा चित्रण गरिएको छ। नयाँ खेतीपाती सुरु हुनु अघि प्रकृति र देवतासँग समृद्धिको कामना गर्ने परम्परा, साकेला नृत्य, मौलिक भेषभूषा तथा परम्परागत बाजागाजाको महत्व गीतमा स्पष्ट रूपमा झल्काइएको छ।

 

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन्। ‘स्टुडियो किङ’मा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ सुरेश पायल राईले गर्नुभएको हो भने गीतको निर्माता बिना राई रहनुभएको छ।

 

गीतसँगै सार्वजनिक गरिएको भिडियोमा पनि उधौली–उभौली पर्वको सांस्कृतिक भावना, सामूहिक नृत्य र किरात समुदायको जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। भिडियो निर्देशन धन खालिङले गर्नुभएको हो भने जस्केलो क्रियशनले निर्माण गरेको हो।

 

मौलिक संस्कृति, सशक्त शब्द र सुमधुर संगीतको संयोजनले गीतलाई विशेष बनाएको संगीतकर्मीहरूको भनाइ छ। सार्वजनिक भएसँगै गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्