रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुतला दहन गरेका छन्। बिहीबार आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन्।
प्रदर्शनका क्रममा स्थानीयले ‘मौलापुरको बजेट फ्रिज गराउने बालेन सरकार मुर्दाबाद’, ‘मौलापुरमा हाकिम पठाऊँ’, ‘सम्मानित अदालतको आदेश पालना गर’ र ‘मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’ लगायतका नारा लगाएका थिए।
स्थानीयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे जिम्मेवारी सम्हाल्न नआएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो। त्यसपछि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नखटाइँदा नगरपालिकाको प्रशासनिक तथा वित्तीय काम प्रभावित भएको उनीहरूको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको बजेट कार्यान्वयनमा समस्या आएको, सेवा प्रवाह प्रभावित भएको तथा विभिन्न विकास योजनाहरू अघि बढ्न नसकेको स्थानीयको आरोप छ।
यसअघि पनि नगर शिक्षकहरूले छ महिनादेखि तलब नपाएको भन्दै पेन डाउन आन्दोलन गरेका थिए। त्यस्तै, बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राही र सरसफाइ कर्मचारीले समेत भुक्तानी नपाउँदा समस्या भोगिरहेको स्थानीयले बताएका छन्।
प्रदर्शनकारीहरूले मौलापुर नगरपालिकामा तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाई प्रशासनिक सेवा सुचारु गर्न तथा रोकिएका भुक्तानी र विकासका कामलाई अघि बढाउन सरकारसँग माग गरेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्