महोत्तरी प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार असार २० गते राति सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वाको टोलीले महोत्तरी गाउँपालिका–१ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा बेरेर राखिएको ४० किलो ३६० ग्राम गाँजा बरामद गरेको थियो।
बरामद गरिएको गाँजा, ट्रक तथा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएपछि अनुसन्धानको दायरा विस्तार गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक बयान र अनुसन्धानका आधारमा प्रहरीले आइतबार बिहान महोत्तरी गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा खानतलासी गर्दा लुकाइराखिएको ४४६ किलो ७४५ ग्राम गाँजा फेला पारेको हो।
यससँगै बरामद गरिएको गाँजाको कुल परिमाण ४८७ किलो १०५ ग्राम पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा, ट्रक तथा पक्राउ परेका दुवै अभियुक्तमाथि लागूऔषधसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्