काठमाडौं, १६ श्रावण २०८३
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के (एमडी ३२५), नेपालका डिस्ट्रिक्ट गभर्नरको “Leading with Purpose” भन्ने वार्षिक मूल नारालाई आत्मसात गर्दै लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायक ले दाची, कागेश्वरी–मनोहरा नगरपालिका मा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका १०० वटा बिरुवा रोप्नुका साथै ती बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धता समेत क्लबले जनाएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा लायन तथा लियो सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा लायन सन्तोष सर्राफ (सेवा प्रमुख) तथा क्लस्टर प्रमुख लायन सुवर्ण कँडेल को विशेष सहभागिता रहेको थियो। उहाँहरूले वृक्षारोपण मात्र नभई रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण नै कार्यक्रमको मुख्य सफलता हुने उल्लेख गर्दै सबैलाई वातावरण संरक्षण अभियानमा निरन्तर जोडिन आग्रह गर्नुभयो।
क्लबका सचिव लायन सञ्जय कुमार कुशवाहा का अनुसार, “वृक्षारोपण कार्यक्रम केवल बिरुवा रोप्ने अभियान मात्र होइन, ती बिरुवालाई हुर्काउने र संरक्षण गर्ने दीर्घकालीन सामाजिक प्रतिबद्धता पनि हो। क्लबले रोपिएका सबै १०० बिरुवाको नियमित हेरचाह गर्ने योजना बनाएको छ।”
उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायक, लायन्स क्लब अफ काठमाडौं सर्राफ तथा लियो क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायक को संयुक्त आयोजनामा सम्पन्न भएको हो।
वातावरण संरक्षणप्रति समाजलाई सचेत बनाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले हरित वातावरण निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। साथै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिइने क्लबले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्