कलैया उपमहानगरपालिका–१ स्थित हाट बजार क्षेत्रमा सार्वजनिक बजेटबाट ढलान गरिएको सडकमाथि बिछ्याइएको करिब २० लाख रुपैयाँ बराबरको ब्लक रातारात गायब भएपछि स्थानीयवासी अचम्ममा परेका छन्।
स्थानीयका अनुसार केही समयअघि मात्रै सरकारी बजेटबाट बिछ्याइएको ब्लक एकाएक उखेलेर हटाइएको देखिएपछि सरकारी सम्पत्तिको संरक्षण, सार्वजनिक बजेटको सदुपयोग तथा निर्माण कार्यको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।
घटनापछि ब्लक कसले, किन र कुन उद्देश्यले हटायो भन्ने विषयमा निष्पक्ष छानबिन गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्। दोषी पहिचान गरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।
यस विषयले सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाएको छ। सार्वजनिक बजेटबाट निर्माण गरिएको संरचना कुनै स्पष्ट जानकारीबिना हटाइएको भन्दै नागरिकहरूले सरकारी कामको अनुगमन, जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
यद्यपि, ब्लक हटाइनुको कारणबारे सम्बन्धित निकायले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। स्थानीयवासीले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै जिम्मेवार पक्षमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्