Wednesday, July 29, 2026
बुधबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

जीतपुरसिमरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण, सदस्य व्यवसायीलाई १ लाखसम्मको दुर्घटना बीमा

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। पदभार ग्रहणसँगै नयाँ नेतृत्वले सदस्य व्यवसायीका लागि प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा लागू गर्ने घोषणा गरेको छ।

जीतपुरस्थित संघको सभाहलमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो।

त्यसपछि निवर्तमान अध्यक्ष मोहन शर्माले नवनिर्वाचित अध्यक्ष गजेन्द्र प्रसाद गुप्तालाई पदभार हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा नयाँ कार्यसमितिका सम्पूर्ण सदस्यहरूले आ-आफ्नो जिम्मेवारी ग्रहण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष शर्माले विभिन्न संघसंस्था तथा सरोकारवाला निकायसँग समन्वय गर्दै संस्थालाई वर्तमान अवस्थासम्म पुर्‍याउन अनेक चुनौतीको सामना गर्नुपरेको बताउनुभयो। वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित संघले उद्योगी तथा व्यवसायीको हितमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा संस्था अझ प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष गुप्ताले पदभार ग्रहणसँगै व्यवसायीहरूको हितलाई केन्द्रमा राखेर महत्वपूर्ण निर्णय सार्वजनिक गर्नुभयो। उहाँका अनुसार तेस्रो अधिवेशनका लागि सदस्यता नवीकरण गरेका ९५७ जना सदस्य व्यवसायीलाई प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ। सम्बन्धित बीमा कम्पनीसँग सम्झौता भइसकेको र उक्त योजना असार १४ गतेदेखि लागू हुने जानकारी उहाँले दिनुभयो।

अध्यक्ष गुप्ताले साना तथा मझौला व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाको कर्जा, बजारको मन्दी, घट्दो आर्थिक गतिविधि तथा लगानीको असुरक्षाजस्ता समस्याबाट प्रभावित भएको उल्लेख गर्दै ती समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी पहल गरिने बताउनुभयो। व्यवसायीमैत्री वातावरण निर्माण, उद्योग प्रवर्द्धन तथा लगानी आकर्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

प्रमुख अतिथि टेमानीले नयाँ कार्यसमितिले पदभार ग्रहण गरेकै दिन व्यवसायीहरूको सुरक्षासँग सम्बन्धित दुर्घटना बीमा कार्यक्रम लागू गर्ने घोषणा गर्नु सकारात्मक र उदाहरणीय कदम भएको बताउनुभयो। जीतपुरसिमरा प्रदेशकै महत्वपूर्ण औद्योगिक क्षेत्र भएकाले यहाँका उद्योगी–व्यवसायीको हकहितका लागि आवश्यक सहयोग गर्न आफू सदैव तयार रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा निर्वाचन समितिलाई नवनिर्वाचित अध्यक्ष गुप्ताद्वारा प्रशंसापत्र प्रदान गरिएको थियो। उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नयाँ नेतृत्वप्रति आशा र विश्वास व्यक्त गरिएको थियो।

गत असार ७ गते सम्पन्न संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र प्रसाद गुप्ता, वरिष्ठ उपाध्यक्षमा शिवजी साह, वाणिज्य उपाध्यक्षमा रामबाबु कलवार तथा महासचिवमा प्रकाश गिरिलगायतको प्यानल निर्वाचित भएको थियो। नवगठित कार्यसमितिले व्यवसायीहरूको हकहित संरक्षण, औद्योगिक विकास, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रका समस्याको समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्