बारा, १५ असोज । जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुर बजारस्थित एक पसलमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार बुधबार राति करिब १ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा–७ पडाबजारस्थित पूर्वतर्फको सर्भिस लेनमा बकुलियाबाट जीतपुर चोकतर्फ जाँदै गरेका जीतपुरसिमरा–६ निवासी १४ वर्षीय हसमुदिन अन्सारीलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनको साथबाट नगद १७ हजार ३ सय रुपैयाँ सहित विभिन्न सामान फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको साथबाट ५०० रुपैयाँका ३ थान, १०० रुपैयाँका ९१ थान, ५० रुपैयाँका ९० थान, २० रुपैयाँका ५९ थान, १० रुपैयाँका ८२ थान र ५ रुपैयाँका ४४ थान नोट बरामद भएको छ।
त्यस्तै, पुलास १ थान, रिन्च १ थान, मोबाइल चार्जरको टाउको १ थान, ब्लुटुथ १ थान र सिन्का २ प्याकेट समेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले थप अनुसन्धान गर्दा जीतपुरसिमरा–७ निवासी शम्भु साहले सञ्चालन गरेको संगम कोल्ड ड्रिम्स पसलको जस्ताको छानोमा चढी करिब ८ फिट लम्बाइ र ३ फिट चौडाइको जस्ता हटाएर नगदसहित उल्लेखित सामान चोरी भएको खुलेको जनाएको छ।
नियन्त्रणमा लिइएका बालकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्