नेपाल आयल निगमले खाना पकाउने एल.पी. ग्यासको आपूर्ति व्यवस्थापनका लागि आज (शुक्रबार) देखि आधा सिलिन्डर मात्र बिक्री गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।
निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अब उपभोक्ताले प्रति सिलिन्डर ७.१ किलो ग्यास मात्र भर्न पाउनेछन्, जसको मूल्य ९५५ रुपैयाँ तोकिएको छ।
मध्यपूर्वमा जारी युद्धले पेट्रोलियम पदार्थ र ग्यास आपूर्तिमा विश्वव्यापी असर पुर्याइरहेको र छिमेकी भारतमा समेत ग्यास अभाव भएको खबर सार्वजनिक भएपछि, नेपालमा आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको थियो। यसै कारण निगमले यस्तो कदम चालेको हो।
निगमका अनुसार, विगत दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च रहँदा उपभोक्ताले घरमा ग्यास थुपार्दै आएका थिए। आधा सिलिन्डर वितरण गर्दा उपलब्ध ग्यास धेरैभन्दा धेरै उपभोक्तासम्म पुग्ने र अनावश्यक भण्डारण रोक्ने अपेक्षा गरिएको छ।
यो व्यवस्था अर्को निर्णय नभएसम्म लागू रहने र निगमले आम उपभोक्तालाई सोही अनुसार ग्यास खरिद गर्न अनुरोध गरेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्