बाराको महागढीमाई नगरपालिका–१, डिही टोलस्थित वडा नं. १ कार्यालय अगाडि पार्किङमा राखिएको इलेक्ट्रिक ई–लोडर अचानक चल्दा ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब १०:३० बजे वडा कार्यालय अगाडि पार्किङमा राखिएको इलेक्ट्रिक ई–लोडरमा ५ देखि ७ जना बालबालिका खेलिरहेका थिए। सोही क्रममा ई–लोडर अचानक स्टार्ट भई अगाडि बढ्दा स्थानीय सजाद मियाकी करिब ६ वर्षीया छोरी तबसुन खातुन गम्भीर घाइते भएकी थिइन्।
घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो। तर उपचारकै क्रममा बिहान ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ।
घटनापछि ई–लोडर कसरी आफैं चल्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्