पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा चार दशकदेखि कायम अतिक्रमण शुक्रबार हटाइएको छ । डिभिजन वन कार्यालय बाराको नेतृत्वमा स्थानीय प्रशासन, नेपाल प्रहरी, पर्सा राष्ट्रिय निकुञ्ज, वनरक्षक र सडक डिभिजन कार्यालय हेटौँडाको संयुक्त टोलीले अतिक्रमण हटाएको हो ।
महेन्द्र राजमार्गको दायाँबायाँ २५/२५ मिटर सडक क्षेत्र, वनदेवी सामुदायिक वन तथा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र अतिक्रमण गरेर बनाइएका ३५ घरटहरा हटाइएको वन कार्यालयले जनाएको छ ।
वन अधिकृत ललन राउतका अनुसार प्रारम्भिक विवरणमा अतिक्रमण हटाइएका ३५ घरधुरीमध्ये दुई परिवार मात्रै वास्तविक सुकुमबासी देखिएका छन् ।
‘धेरैजसोको सामान हेटौँडातर्फ लगिएको छ । अहिलेसम्म वास्तविक रूपमा घरबास नभएका धेरै भेटिएका छैनन्,’ उनले भने ।
वन कार्यालयले अतिक्रमण हटाउनुअघि नै अन्यत्र बसोबास नभएकाहरूलाई स्थानीय तहमा सम्पर्क गर्न दुई साताअघि सूचना जारी गरेको जनाएको छ ।
यो क्षेत्रमा २०३५ सालदेखि नै होटल तथा व्यापारिक संरचना सञ्चालन हुँदै आएका थिए । अधिकांश व्यवसायी हेटौँडाका स्थायी बासिन्दा रहेको वन कार्यालयको दाबी छ ।
डिभिजन वन अधिकृत सुजित कुमार झाले सडक, वन र निकुञ्ज क्षेत्र अतिक्रमण गरेर बसोबास गर्ने अधिकांशको अन्यत्र घरजग्गा रहेको पाइएको बताए ।
‘३५ घरधुरीमध्ये धेरैको हेटौँडा र पथलैयामा घर रहेछ । यदि साँच्चै भूमिहीन वा सुकुमबासी हुनुहुन्छ भने प्रमाणसहित आउनुस्, स्थानीय तहसँग समन्वय गरिदिन्छौँ,’ उनले भने ।
उनका अनुसार वन ऐन, २०७६ ले अतिक्रमणलाई कानुनी रूपमा मान्यता नदिने भएकाले अतिक्रमण हटाउने काम कानुनअनुसार गरिएको हो ।
अतिक्रमण हटाउने क्रममा स्थानीयले सामान सार्न कम्तीमा १५ दिनको समय माग गरेका थिए । तर सडक डिभिजन कार्यालय हेटौँडा र वन कार्यालयले वैशाख पहिलो सातामै तीनदिने सूचना जारी गर्दै पथलैया–अम्लेखगञ्ज–चुरियामाई मन्दिर सडकखण्डमा बनाइएका अनधिकृत संरचना हटाउन निर्देशन दिएका थिए ।
पटकपटकको सूचनापछि पनि अटेर गरेकाले शुक्रबार बल प्रयोग गरेर क्षेत्र खाली गराइएको जनाइएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका–२२ का वडाध्यक्ष शेखरकाजी रुम्बाले केही परिवारले वैकल्पिक जग्गाको माग गर्दै स्थानीय तहमा निवेदन दिएको जानकारी दिए ।
शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको अतिक्रमण हटाउने अभियान साँझ ६ बजेसम्म चलेको थियो ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्