जिल्ला प्रशासन कार्यालय बाराले राहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारीस्वरूप तीन दिनका लागि राहदानी सेवा स्थगित हुने जनाएको छ।
कार्यालयका प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवद्वारा सोमबार जारी सूचनाअनुसार राहदानी विभागले हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई २०८३ असार २९ गते (१३ जुलाई २०२६) देखि नयाँ प्रणालीमा रूपान्तरण गर्ने तयारी पूरा गरेको छ।
सोही प्रक्रियाअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट प्रदान गरिने राहदानी सेवा असार २४ गतेदेखि २६ गतेसम्म तीन दिनका लागि बन्द रहनेछ। कार्यालयका अनुसार असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिनेछ।
कार्यालयले यसअघि राहदानीका लागि टोकन प्राप्त गरिसकेका सेवाग्राहीलाई नयाँ प्रणालीमार्फत पुनः अनलाइन फारम भरी आवश्यक प्रक्रिया पूरा गर्न तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
राहदानी सेवा केही दिनका लागि अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालय बाराले क्षमायाचना गर्दै नयाँ प्रणाली लागू भएपछि सेवा थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्