Sunday, September 13, 2026
आइतबार, भाद्र २८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.07 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जीतपुरसिमरा क्रिकेट कप: सर्लाहीको विजयी सुरुवात

सर्लाही जिल्ला क्रिकेट संघले तेस्रो जीतपुरसिमरा क्रिकेट कपमा प्रभावशाली सुरुवात गरेको छ। शनिबार बाराको जीतपुरसिमरा–४ औराहस्थित सेज क्रिकेट मैदानमा सम्पन्न खेलमा पर्सा जिल्ला क्रिकेट संघलाई १७ रनले पराजित गर्दै सर्लाहीले पहिलो खेलमै जित हात पारेको हो।

१४६ रनको लक्ष्य पछ्याएको पर्सा १२८ रनमै अलआउट भयो। सर्लाहीको बलिङतर्फ जितेश मण्डल र अभय यादवले समान तीन–तीन विकेट लिए। राहुल महतोले दुई विकेट लिए भने चक्रधार यादव र अलि हसनले एक–एक विकेट लिए।

पर्साका लागि वशिम मन्सुरीले २३ रन बनाउँदा अकिब अन्सारीले १८, आदर्श भण्डारीले १६ तथा चन्दन राम र हासिम अन्सारीले समान १४–१४ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।

यसअघि टस जितेर ब्याटिङ रोजेको सर्लाहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जितेश मण्डलले सर्वाधिक ४६ रन बनाए भने परिमार्जन यादवले ४१ रनको योगदान दिए। हेमन्त सिंहले १७ रन जोडे, तर अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

पर्साका बलर वशिम मन्सुरी र नितेश पटेलले समान दुई–दुई विकेट लिए भने आदर्श भण्डारी र चन्दन रामले एक–एक विकेट लिए।

उत्कृष्ट प्रदर्शनका लागि सर्लाहीका जितेश मण्डल ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनलाई मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले पुरस्कार प्रदान गरे। साथै जनकपुर बोल्ट्सका विष्णु लामिछानेले मण्डललाई क्लबको जर्सी हस्तान्तरण गरे।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार बारा जिल्ला क्रिकेट संघ र सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ। चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक जीतपुरसिमरा क्रिकेट क्लबसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्