रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत जुडिबेलास्थित पूर्वी लच्का नजिकै भएको दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २२–२३ वर्षीय युवकको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने अझै खुल्न सकेको छैन ।
प्रहरीका अनुसार राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरबाट सहायक प्रहरी नायव निरीक्षक रामकुमार अधिकारीको नेतृत्वमा ९ जनाको टोली र जिल्ला ट्राफिक कार्यालयबाट ट्राफिक प्रमुख राजेन्द्र थापामगरको नेतृत्वमा १० जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख थापामगरका अनुसार दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बस चालक मकवानपुर गढी गाउँपालिका–३ निवासी ५९ वर्षीय लक्ष्मीभक्त ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाल चालक र दुवै सवारी साधनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ । मृतकको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्