बारा, जीतपुरसिमरा–१५ डुमरवाना स्थित राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले आफ्नो २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। सांस्कृतिक कार्यक्रम, सम्मान समारोह र फुड फेस्टिबलसहित आयोजना गरिएको कार्यक्रमले विद्यालय परिसर दिनभरि उत्सवमय बनेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर खड्काको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। वक्ताहरूले विद्यालयले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका थिए। स्वदेश तथा विदेशमा हुने विभिन्न प्रतियोगिता र गतिविधिमा विद्यालयको सक्रिय सहभागिता व्यवस्थापनको प्रतिबद्धता र निरन्तर प्रयासको परिणाम भएको धारणा व्यक्त गरियो।
विद्यालयका निर्देशक श्याम प्रसाद भट्टराईले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै पछिल्ला वर्षहरूमा हासिल गरिएका उपलब्धि र भावी योजनाबारे जानकारी दिए। गुणस्तरीय शिक्षा, अनुशासन र सीप विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजन पौडेलले विद्यालयले शैक्षिक जनशक्ति उत्पादनदेखि खेलकुद र अतिरिक्त गतिविधिसम्म उल्लेखनीय प्रगति गरेको उल्लेख गरे। मधेश प्रदेशबाट पहिलो पटक परराष्ट्र मन्त्रालयमा प्रतिनिधित्व गर्ने विद्यार्थी उत्पादन गर्न सफल हुनु विद्यालयका लागि गौरवको विषय भएको उनको भनाइ थियो।
नगरप्रमुख पौडेलले नयाँ शैक्षिक वर्ष सुरु हुनुअघि शिक्षा ऐन र नियमावलीको अध्ययन गरी आवश्यक सुझावसहित सुधारका कदम चाल्नुपर्नेमा जोड दिए। विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराउने गरी तयारी गर्नुपर्ने उनले बताए। आधारभूत तहको नतिजा सुधार गर्न उपमहानगरपालिकाले कक्षा ५ को परीक्षा आफैं सञ्चालन गर्ने तयारी थालेको जानकारी पनि उनले दिए।
कार्यक्रममा जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले सामुदायिक विद्यालयमा सेनिटरी प्याड उपलब्ध गराइए पनि संस्थागत विद्यालयमा त्यस्तो सुविधा नदिएको विषय उठाए। “संस्थागत विद्यालयका विद्यार्थी पनि यही समाजका छोरीबहिनी हुन्,” उनले भने।
वार्षिकोत्सवका अवसरमा ‘वर्ष अभिभावक’ सम्मान शिला बहादुर गुरुङ र राजेश्वर प्रसाद चौधरीलाई प्रदान गरिएको थियो। उत्कृष्ट कर्मचारीका रूपमा अनिता दुलाल चौधरी सम्मानित भइन्।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक झल्को दिने गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने फुड फेस्टिबल पनि आयोजना गरिएको थियो। अभिभावकहरूको उत्साहजनक सहभागिताले समारोहलाई थप अर्थपूर्ण बनाएको थियो। कार्यक्रमको सहजीकरण शिक्षक किशोरबाबु श्रेष्ठले गरेका थिए।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्