Friday, July 31, 2026
शुक्रबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

वीरगन्जको नारायणी रंगशालाको पुनर्निर्माण सुरु, जीर्ण संरचना भत्काएर नयाँ निर्माण थालियो

पर्साको वीरगन्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। देशकै दोस्रो ठूलो खेलकुद संरचना मानिने उक्त रंगशालालाई पुनः सञ्चालनयोग्य बनाउन चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट विनियोजित रकम परिचालन गरी बिहीबारदेखि भौतिक काम अगाडि बढाइएको हो।

वर्षौंदेखि मर्मतसम्भारको अभावमा जीर्ण बनेको रंगशालालाई नयाँ स्वरूप दिन पहिलो चरणमा अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेका प्यारापिटहरू डोजर प्रयोग गरी भत्काउन थालिएको पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार कानुले जानकारी दिएका छन्।

रंगशालाको पुनर्निर्माणका लागि अघिल्लो सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तत्कालीन कानुनमन्त्री अजय चौरसिया र खेलकुदमन्त्री तेजुलाल चौधरीको पहलमा विनियोजन भएको उक्त बजेट निकासा भएपछि अहिले कामले गति लिएको हो।

करिब ३५ हजार दर्शक क्षमता रहेको यो ऐतिहासिक रंगशाला पुनर्निर्माण हुनु स्थानीय खेलाडी र खेलप्रेमीहरूका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। लामो समयदेखि रंगशालाको जीर्ण अवस्था सुधार्न यहाँका खेलकुदकर्मीहरूले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका थिए।

यद्यपि रंगशालाको पूर्ण स्तरोन्नतिका लागि हाल उपलब्ध चार करोड रुपैयाँ पर्याप्त नहुने समितिले जनाएको छ। अध्यक्ष कानुका अनुसार तत्काल प्राप्त बजेटबाट नयाँ प्यारापिट निर्माण सुरु गरिनेछ भने बाँकी संरचनाको सुधारका लागि संघीय सरकार तथा युवा तथा खेलकुद मन्त्रालयसँग थप बजेट माग गरिनेछ।

साथै मधेस प्रदेश सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा यस रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखेकाले प्रदेश सरकारसँग आवश्यक समन्वय र बजेटका लागि पहल गरिने बताइएको छ।

वि.सं. २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा अधिग्रहण गरी निर्माण सुरु गरिएको यस रंगशालाको उद्घाटन २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहबाट गरिएको थियो। करिब डेढ दशकअघि सम्म राष्ट्रिय स्तरका प्रतियोगिताको केन्द्र बनेको यो मैदान संरक्षणको अभावमा जीर्ण बनेपछि खेल गतिविधि लगभग ठप्प भएको थियो।

 

पुनर्निर्माण सुरु भएसँगै वीरगन्जको खेलकुद गतिविधि पुनः सक्रिय हुने र खेलाडीहरूका लागि स्तरीय अभ्यास स्थल उपलब्ध हुने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्