Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पक्राउ परेका छन्। पर्साको ठोरी क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सिंहमाथि सरकारी लिखत किर्ते, झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा राहदानीसम्बन्धी कसुर गरेको आरोप छ। आरोपअनुसार उनले अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरेको दाबी गरिएको छ।

यस प्रकरणमा पर्सा जिल्ला अदालतले गत मंगलबार पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। सोही मुद्दामा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराई, उनकी छोरी रुबिना श्रेष्ठ तथा वीरगञ्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायलाई पनि प्रतिवादी बनाइएको छ।

अभियोगपत्रअनुसार सिंहले रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा उल्लेख गर्दै २०७१ माघ २० गते रुबिना श्रेष्ठको जन्मदर्ता गराएका थिए। उक्त जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता बनाइएको र त्यसको १२ दिनपछि राहदानी जारी गरिएको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ।

जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सरकारी वा सार्वजनिक लिखत किर्ते गरेको ठहर भए सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। साथै नागरिकता ऐन, २०६३ र अपराध पीडित संरक्षण ऐन, २०७५ अन्तर्गत समेत सजायको मागदाबी गरिएको छ।

जिल्ला अदालतका अनुसार सिंहविरुद्ध चार वटा मुद्दा दर्ता भएका छन्। वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरीका आधारमा लिखतसम्बन्धी कसुरमा पक्राउ अनुमति दिइएको अदालतले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्