मधेस प्रदेशको पर्यटन प्रवर्द्धन तथा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यले शुक्रबारदेखि तीनदिने ‘मधेस ट्राभल मार्ट’ आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुने कार्यक्रमको समन्वय नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेश) ले गर्नेछ।
नाटाले बिहीबार सिमरामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो। नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेका अनुसार कार्यक्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायीहरूको सहभागिता रहनेछ। भारतका पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या तथा कोलकाताबाट पर्यटन व्यवसायीहरू कार्यक्रममा सहभागी हुनेछन्।
उनले भारतीय पर्यटन व्यवसायीलाई मधेसका पर्यटकीय गन्तव्यबारे प्रत्यक्ष जानकारी गराई भारतीय पर्यटकको संख्या बढाउने लक्ष्यसहित ट्राभल मार्ट आयोजना गरिएको बताए। यसबाट मधेस प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले पर्यटन क्षेत्रको अपार सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले अमलेखगञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअन्तर्गत ट्राभल मार्ट आयोजना गरिएको जानकारी दिए।
वडा नं. २१ का अध्यक्ष सुवास श्रेष्ठले पनि अमलेखगञ्जमा पर्यटन विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पर्यटक आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनका अनुसार ट्राभल मार्टले अमलेखगञ्जलाई स्थापित पर्यटन गन्तव्यका रूपमा चिनाउन सहयोग पुर्याउनेछ।
नाटाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कार्यक्रम वीरगञ्जबाट सुरु भएर जनकपुरधाममा सम्पन्न हुनेछ। भारतीय पाहुनाहरू बिहीबार साँझ रक्सौल नाका हुँदै वीरगञ्ज आइपुग्नेछन्। शुक्रबार बिहान वीरगञ्जस्थित होटल सरोवरमा कार्यक्रमको औपचारिक उद्घाटन हुनेछ। उद्घाटनअघि सहभागीहरूलाई महागढीमाई मन्दिर दर्शन गराइनेछ भने त्यसपछि टोली सिमरा पुगेर होटल क्लासिक प्लाजामा पर्यटन प्रवर्द्धन केन्द्रित छलफल कार्यक्रममा सहभागी हुनेछ।
शनिबार सहभागीहरूलाई अमलेखगञ्जस्थित सिद्धबाबा हाइकिङ रुट तथा पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइने कार्यक्रम रहेको छ। त्यसपछि टोली बर्दिबासस्थित तुलेश्वर महादेव मन्दिर हुँदै जनकपुरधाम पुग्नेछ, जहाँ मिथिला आर्ट ग्यालरी अवलोकन, जानकी मन्दिर दर्शन तथा गंगा आरतीमा सहभागिता गराइनेछ।
कार्यक्रमको अन्तिम दिन जनकपुरधामबाट सहभागीहरूलाई बिदाइ गरिने नाटाले जनाएको छ। कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज तथा होटल तथा पर्यटन व्यवसायी संघ बाराको समेत सहयोग रहनेछ।
होटल सिमरा इनमा आयोजित पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाकी अधिकृत सीमा यादव, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी, उपाध्यक्ष गोविन्द गहतराजलगायतको उपस्थिति रहेको थियो।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्