Sunday, September 13, 2026
आइतबार, भाद्र २८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.07 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

मधेसमा रास्वपाको लहर, अरू दलहरू दबाबमा

काठमाडौँ । २०७९ को निर्वाचनमा मधेस प्रदेशमा उल्लेखनीय उपस्थिति जनाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक भने त्यहाँ व्यापक चर्चामा आएको छ। काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) लाई वरिष्ठ नेताको रूपमा पार्टीमा भित्र्याउँदै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेसँगै मधेसमा रास्वपाप्रति आकर्षण ह्वात्तै बढेको देखिन्छ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले अघि सारेको नारा ‘मधेसको छोरा प्रधानमन्त्री बन्दैछन्’ ले मधेसमा विशेष प्रभाव पारेको छ। यसले मधेसमा मात्र होइन, देशभर नै बालेनप्रति उत्साह बढाएको छ। महोत्तरीदेखि दार्चुलासम्म बालेनको एकनासको क्रेज देखिन थालेको छ।

अन्य क्षेत्रको तुलनामा तराई–मधेसमा बालेन र रास्वपाको चर्चा अहिले बढी छ। राजनीतिक विश्लेषकहरूका अनुसार मधेसमा संगठनात्मक रूपमा कमजोर रहेको रास्वपाले मधेसी मूलका बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर मत आकर्षित गर्ने रणनीति लिएको देखिन्छ। मधेसले साथ दिए रास्वपा पहिलो पार्टी बन्न सक्ने दाबी पनि पार्टीभित्रबाट हुन थालेको छ।

यसै सन्दर्भमा रास्वपाले मधेसमा कुन दलको मत बढी काट्ला भन्ने बहस चर्किएको छ। रातोपाटीले मधेसका नागरिक अगुवा, राजनीतिकर्मी र बुद्धिजीवीसँग कुरा गर्दा अधिकांशले एमालेको मत बढी प्रभावित हुने बताएका छन्। राजनीतिक विश्लेषक श्रीमन नारायण भन्छन्, “एमालेका पछिल्ला गतिविधि, दुई पटक संसद् विघटन र जेनजी आन्दोलनको प्रभावले एमालेको मत रास्वपातिर सर्न सक्छ।”

हाल मधेसमा एमाले सबैभन्दा ठूलो दल भए पनि अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतका मधेससम्बन्धी अभिव्यक्तिले मधेसी मतदाता असन्तुष्ट बनेको विश्लेषकहरूको भनाइ छ।

जनकपुरका नागरिक अगुवा सत्यनारायण साह भने लोकतान्त्रिक र वामपन्थी दुवै धारको मत रास्वपातिर आकर्षित हुन सक्ने बताउँछन्। उनका अनुसार मधेस केन्द्रित दलहरूको कार्यशैलीप्रति आजित मतदाता पनि वैकल्पिक शक्तिको खोजीमा रास्वपातिर सर्न सक्छन्।

मधेस राजनीतिमा लामो समयदेखि सक्रिय भरतविमल यादव रास्वपाले कुनै एक दलको भन्दा पनि सबै दलको थोरै–थोरै मत काट्न सक्ने तर्क गर्छन्। “शीर्ष नेता बाहेकका उम्मेदवारको मत रास्वपाले तान्न सक्छ, यसमा बालेन मुख्य फ्याक्टर हुन्,” उनी भन्छन्।

पत्रकार तथा विश्लेषकहरूको धारणा भने फरक–फरक छ। कोही एमालेको मत बढी काटिने बताउँछन् भने कोही जनमत पार्टी, जसपा नेपाल र कांग्रेसको असन्तुष्ट मत रास्वपातिर जाने सम्भावना देख्छन्। कतिपयले भने लोकप्रियतावादी लहरका कारण सबै ठूला दल प्रभावित हुने आकलन गरेका छन्।

समग्रमा, बालेन शाहलाई केन्द्रमा राखेर अघि बढेको रास्वपाको रणनीतिले मधेसको राजनीतिक समीकरणलाई तरंगित बनाएको छ। यसले कुन दललाई कति असर गर्छ भन्ने परिणाम भने निर्वाचनपछि मात्र स्पष्ट हुनेछ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्