Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सामुदायिक विद्यालय सुधारमा जीतपुरसिमराको नयाँ पहल, ६ सयभन्दा बढी शिक्षक–कर्मचारीलाई उत्प्रेरणा

जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित नयाँ शैक्षिक सत्र सुरु हुनुअघि शिक्षक लक्षित उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।

उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा कर्मचारीलाई एकै स्थानमा भेला गराएर आइतबार अमलेखगञ्जमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा ६ सयभन्दा बढीको सहभागिता रहेको थियो।

हालै सार्वजनिक कक्षा ८ को परीक्षाफलमा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएपछि उठेको आलोचनाबीच सुधारको उद्देश्यसहित यो कार्यक्रम गरिएको उपमहानगरपालिकाले जनाएको छ। राज्यको ठूलो लगानी हुँदाहुँदै पनि निजी विद्यालयको तुलनामा कमजोर नतिजा देखिनु चिन्ताजनक रहेको नगर प्रमुख राजन पौडेलले बताए।

कार्यक्रममा शैक्षिक अभियन्ता अभिषेक घिमिरेले सहजीकरण गर्दै विद्यालय सुधारमा शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति र स्थानीय तहको भूमिकाबारे उदाहरणसहित विस्तृत जानकारी दिएका थिए। उनले जिम्मेवार नेतृत्व र जवाफदेहिताले विद्यालयको अवस्था कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयमा प्रस्तुत गरेका अनुभवहरू सहभागीले ध्यानपूर्वक सुनेका थिए।

झण्डै पाँच घण्टा चलेको कार्यक्रममा सहभागी शिक्षकहरूले कार्यक्रमले आफूहरूलाई थप जिम्मेवार र प्रेरित बनाएको प्रतिक्रिया दिएका छन्। सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन सकिने सम्भावनाबारेका उदाहरणहरूले आफूहरूलाई उत्साहित बनाएको उनीहरूको भनाइ छ।

यसैबीच, उपमहानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग १७ बुँदे सम्झौता प्रक्रिया समेत अघि बढाएको छ। उक्त सम्झौतामा विद्यालय सुधारका लागि विद्यालय र उपमहानगर दुवै पक्षको भूमिका र जिम्मेवारी स्पष्ट रूपमा उल्लेख गरिएको छ।

नगर प्रमुख र सम्बन्धित वडाध्यक्षको रोहवरमा हुने सम्झौतापत्रमा प्रधानाध्यापक, उपमहानगरपालिकाको सामाजिक तथा आर्थिक विकास महाशाखा प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले हस्ताक्षर गर्ने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्