जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ अन्तर्गत मुसहर्नीमाई टोल निवासी बिन्दुकुमारी दाहालको घरमा विद्युत सर्टका कारण आगलागी भएको छ। अचानक लागेको आगोले घरका लत्ताकपडा, खाद्यान्न, फर्निचर तथा अन्य घरायसी सामान जलेर नष्ट हुँदा ठूलो भौतिक क्षति भएको छ।
घरमा आगलागी भएको जानकारी पाउने बित्तिकै स्थानीयवासी र वडा प्रतिनिधिहरूले तत्काल दम्कललाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ जीतपुरसिमरा उपमहानगरपालिकाको दम्कल टोली समयमै घटनास्थलमा पुगेर कडा मेहनतका साथ आगो नियन्त्रणमा लिएको थियो। दम्कलको छिटो र प्रभावकारी पहलका कारण आगो अन्य घरहरूमा फैलिन नपाएको बताइएको छ।
आगलागीको घटनाले दाहाल परिवारलाई गम्भीर असर पारेको छ। अचानक घर जलेपछि परिवार अहिले असामान्य र कठिन परिस्थितिमा रहेको वडाले जनाएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै वडा नम्बर २ को वडा परिवारले पीडित परिवारको अवस्था सामान्य बनाउन आवश्यक सबै पहल गरिने र वडाबाट सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
यसैबीच, घटनाको जानकारी पाउने बित्तिकै माननीय किसन श्रेष्ठ पनि घटनास्थलमा पुगेर आगलागी भएको स्थानको निरीक्षण गर्नुभएको थियो। उहाँले पीडित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्नुका साथै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ। माननीय श्रेष्ठको उपस्थितिपछि पीडित परिवारमा केही आशा र भरोसा जागेको महसुस गरिएको स्थानीयहरूले बताएका छन्।
वडाले आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाको दम्कल टोलीप्रति धन्यवाद व्यक्त गरेको छ। साथै, यस्ता घटनाबाट सतर्क रहन विद्युत प्रयोगमा सावधानी अपनाउन र घरभित्रको तारजाल नियमित रूपमा जाँच गर्न स्थानीयवासीलाई अनुरोध गरिएको छ।
वडाले आगामी दिनमा पीडित परिवारलाई राहत, पुनःस्थापना र आवश्यक सहयोगका विषयमा समन्वय गरी थप निर्णय लिने जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्