Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

साढे आठ वर्षको प्रतीक्षापछि वडा नं. १३ को आफ्नै भवन उद्घाटन

स्थानीय तह स्थापना भएको साढे आठ वर्षपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१३ ले अन्ततः आफ्नै वडा कार्यालय भवन पाएको छ। बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख राजन पौडेलले नवनिर्मित वडा कार्यालय भवनको औपचारिक उद्घाटन गर्दै सेवा प्रवाह सुरु गरेका हुन्।

स्थापना कालदेखि सामुदायिक भवनको साँघुरो कोठाबाट सेवा दिँदै आएको वडा नं. १३ अब सुविधा सम्पन्न पाँच कोठे आफ्नै भवनबाट सञ्चालनमा आएको छ। करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनबाट सेवा सुरु भएसँगै वडाबासीलाई थप सहज, व्यवस्थित र प्रभावकारी सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

वडाध्यक्ष हेमनारायण चौधरीले लामो प्रतीक्षापछि आफ्नै भवनबाट सेवा दिन पाउनु वडा र वडाबासी दुवैका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। सीमित स्थानका कारण सेवा प्रवाहमा देखिँदै आएका समस्या अब अन्त्य हुने र काम थप प्रभावकारी ढंगले अघि बढ्ने उनको भनाइ थियो।

कार्यक्रममा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत किरतीराज सुवेदीले आफ्नै भवनबाट सेवा सञ्चालन हुनु कार्यसम्पादन मूल्यांकनको महत्वपूर्ण आधार हुने उल्लेख गरे। उनले साना उपभोक्ता समितिहरूले भुक्तानीका लागि नगरपालिकामा धाउनुपर्ने अवस्था अन्त्य गर्दै वडा कार्यालयबाटै भुक्तानी प्रक्रिया सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।

नगरप्रमुख पौडेलले उपमहानगरपालिकाका २४ वडामध्ये हाल २२ वडाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको जानकारी दिए। वडा नं. २४ को भवन भने साइड क्लियरेन्सका कारण उद्घाटन हुन बाँकी रहेको उनले स्पष्ट पारे। उपमहानगर प्रविधिमैत्री र व्यवस्थित सेवा प्रवाहतर्फ अघि बढिरहेको पनि उनले बताए।

उद्घाटन कार्यक्रममा समाजसेवी रुपलाल चौधरीले वडा सानो भए पनि विकास निर्माणका थुप्रै काम बाँकी रहेको उल्लेख गर्दै वडा नं. १३ लाई नमुना वडा बनाउने गरी योजना अघि बढाउन आग्रह गरे। कार्यक्रममा वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल र वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन वडा सचिव अनिल पासवानले गरेका थिए।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्