जितपुर सिमरा । पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगमस्थल बारा क्षेत्र नम्बर ४ मा यतिबेला मौसमभन्दा धेरै राजनीति तातिएको छ। हेटौँडाबाट मधेस झर्नेबित्तिकै महसुस हुने तातो हावासँगै चुनावी चर्चा, रणनीति र दाउपेचको चहलपहल बाक्लिँदै गएको छ। यसपटक यहाँ पुराना अनुहार, नयाँ ऊर्जा र विभिन्न राजनीतिक धारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
किसान श्रेष्ठको व्यक्तिगत प्रभाव, तर चुनौती पनि उत्तिकै
तनहुँबाट बारा आएका कृष्णकुमार श्रेष्ठ (किसान) अघिल्लो निर्वाचनमा पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का तर्फबाट विजयी भएका थिए। अहिले उनी पुनः नेकपा एमालेमा फर्किएर चुनावी मैदानमा छन्।
अघिल्लो कार्यकालमा उनले संसद्मा बारा–४ का मुद्दा उठाएको भन्दै धेरैले प्रशंसा गरे पनि पार्टी परिवर्तनको विषयमा केही मतदाता असन्तुष्ट देखिन्छन्। एमालेप्रति आलोचनात्मक मत राख्नेहरू पनि व्यक्तिगत रूपमा किसानप्रति नरम छन्। तर जितेर गएपछि क्षेत्रमै कम देखिएको भन्ने आरोपले उनलाई दबाबमा राखेको छ।
पथलैयाका व्यवसायी रमेश थापाको भनाइ छ, “व्यक्तिगत रूपमा सहयोगी भए पनि पटक–पटक पार्टी फेर्ने प्रवृत्तिले केही मतदाता अन्योलमा छन्। यसपटक उनको जित व्यक्तिगत मत जोगाउन सक्ने क्षमतामै निर्भर देखिन्छ।”
रहबरको ‘घण्टी’ कति बज्छ?
किसान श्रेष्ठका मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी उभिएका छन्। देशभरि देखिएको रास्वपाको प्रभाव मधेसमा पनि विस्तार हुँदै गएको छ। राजमार्ग आसपासका बजार क्षेत्र मात्र होइन, ग्रामीण भेगमा पनि ‘घण्टी’ चिन्हको चर्चा बढ्दो छ।
अमलेखगन्जका युवा सुवास तामाङ भन्छन्, “हामीलाई पुराना कुरा होइन, काम गर्ने नयाँ नेतृत्व चाहिएको छ। रहबर युवा र भिजन भएका उम्मेदवार हुन्।”
यद्यपि, प्रतिस्पर्धीहरूले उनलाई ‘पर्साबाट आएको उम्मेदवार’ भन्दै प्रश्न उठाइरहेका छन्। मुस्लिम समुदायको उल्लेख्य मत रहेको क्षेत्रमा उनलाई केही सहजता देखिए पनि राष्ट्र निर्माण दलका समिम मियाँ र जसपाका नेता जितेन्द्र सोनलको भूमिकाले प्रतिस्पर्धा जटिल बन्ने संकेत छ।
कांग्रेसको उत्साह र संगठनको भरोसा
बारा–४ मा नेपाली कांग्रेस यसपटक आफ्नै उम्मेदवारसहित मैदानमा छ। श्यामबाबु गुप्ताको उम्मेदवारीले कार्यकर्तामा उत्साह थपेको छ।
सिमराका शम्भु गुप्ताका अनुसार, “धेरै वर्षपछि रुख चिह्नमा भोट हाल्ने अवसर आएको छ। संगठन एकजुट छ।”
तर कांग्रेसका लागि मुख्य चुनौती भनेको परम्परागत मतबाहेक नयाँ मतदाता तान्न सक्नु हो।
कुशवाहा र खनालको समीकरण
नेकपाका अजय कुशवाहा आफूलाई ‘जेनजी’ उम्मेदवार भन्दै युवामाझ सक्रिय छन्। अन्तर्राष्ट्रिय बास्केटबल खेलाडीको पृष्ठभूमि र पारिवारिक राजनीतिक विरासतले उनलाई केही युवा मत तान्ने आधार दिएको छ। तर सहरी क्षेत्रमा उनको पकड कमजोर देखिन्छ।
पूर्वआईजीपी सर्वेन्द्र खनाल समुन्नत नेपाल पार्टीबाट ‘बाँसुरी’ चिन्ह लिएर चुनावमा छन्। प्रहरी प्रमुख रहँदाको छविलाई आधार बनाएर मत मागिरहेका खनाललाई संगठनको अभाव चुनौती बनेको छ।
अन्तिम समयको चलखेल र निर्णायक देहात
स्थानीय बुद्धिजीवीहरू भने अन्तिम समयमा हुने आर्थिक प्रभावप्रति सतर्क छन्। सिमराका शिक्षक राजीव यादव भन्छन्, “माहोल जसको पक्षमा भए पनि अन्तिम रातको चलखेलले नतिजा बदल्न सक्छ। तर मतदाता पहिलेभन्दा सचेत छन्।”
सहरी क्षेत्रमा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा देखिए पनि अन्तिम परिणाम देहातको मतले निर्धारण गर्ने देखिन्छ। किसान श्रेष्ठ, रहबर अन्सारी र श्यामबाबु गुप्ताबीचको त्रिपक्षीय भिडन्तमा जसले ग्रामीण मतदातालाई विश्वासमा लिन सक्छ, उसैले बारा–४ को बाजी मार्ने सम्भावना बलियो छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्