इलाका प्रहरी कार्यालय सिमराले १३ वर्षीया नाबालिकामाथि अनैतिक कार्य गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरका अन्दाजी ७० वर्षीय लकिचन्द साह कलवार रहेका छन्। प्रहरीले उनलाई शनिबार राति उनकै पसलबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार, घटनाको जानकारी प्राप्त हुनासाथ टोली परिचालन गरी आरोपितलाई नियन्त्रणमा लिइएको हो। घटनाको प्रकृति गम्भीर रहेकाले उनलाई हाल हिरासतमा राखिएको छ।
सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीका अनुसार, आरोपितविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
यस घटनाले स्थानीय स्तरमा चिन्ता बढाएको छ। पछिल्लो समय मधेस प्रदेशमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरू बढ्दो क्रममा देखिनु गम्भीर विषय बनेको छ। विशेषगरी बारा, पर्सा र रौतहट जिल्लामा दाइजो प्रथा, बोक्सी आरोप तथा विभिन्न प्रकारका दुर्व्यवहारका घटनाहरूले समाजमा नकारात्मक असर पारिरहेको सरोकारवालाहरूको भनाइ छ।
यस अवस्थामा बालबालिका तथा महिलाको सुरक्षा सुनिश्चित गर्न समुदाय, परिवार र सम्बन्धित निकायबीच समन्वय र सतर्कता अझै आवश्यक देखिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्