बारा — श्याम बाबू गुप्ताले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीको औचित्य र प्रतिबद्धताबारे स्पष्ट पारेका छन्।
पत्रकारहरूसँगको छलफलमा उनले आफूले चुनावमा भाग लिनुको मुख्य उद्देश्य क्षेत्रको समग्र विकास, सुशासन र युवालाई अवसर सिर्जना गर्नु रहेको बताए। “म यही माटोमा जन्मे–बढेको व्यक्ति हुँ। यहाँका समस्या, सम्भावना र जनताको अपेक्षा राम्रोसँग बुझेको छु,” उनले भने,उनले मतदातालाई भावनामा होइन, काम र दृष्टिकोणमा आधारित भएर निर्णय लिन आग्रह गरे। आफू स्थानीय र युवा उम्मेदवार भएकाले सर्वसाधारणमा सकारात्मक ऊर्जा र प्रेरणा बढेको दाबी गर्दै उनले यस पटकको निर्वाचनमा विजय सुनिश्चित रहेको विश्वास व्यक्त गरे।
नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका गुप्ताले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे। साथै पारदर्शिता र जवाफदेहितालाई आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाउने प्रतिबद्धता दोहोर्याए। कार्यक्रममा सञ्चारकर्मीहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिँदै उनले प्रतिस्पर्धी उम्मेदवारहरूप्रति सम्मान प्रकट गरे पनि आफ्नो एजेन्डा र जनसमर्थन बलियो रहेको दाबी गरे। बारा क्षेत्र नं. ४ मा यसपटकको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ, र गुप्ताको दाबीले चुनावी माहोल थप तातेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्