Friday, April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 40.45 SELL AUD/NPR 104.55 SELL BHD/NPR 393.80 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बारामा ४ लाख ६५ हजारभन्दा बढी मतदाता, ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बारा जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। चारवटै निर्वाचन क्षेत्रमा आवश्यक कर्मचारी, सुरक्षाकर्मी र सामग्री सम्बन्धित स्थानमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नं. १ को कोल्हबी, क्षेत्र नं. २ को बरियारपुर, क्षेत्र नं. ३ को कलैया र क्षेत्र नं. ४ को जीतपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी करिब दुई महिनादेखि तयारी थालिएको थियो। अहिले सबै क्षेत्रमा मतदानको पूर्वतयारी पूरा भएको जनाइएको छ।

जिल्लाका १६ स्थानीय तहमा ३०५ मतदानस्थल र ५८७ मतदान केन्द्र तोकिएका छन्। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित ६ जनाका दरले कर्मचारी खटाइएको बारा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिएका छन्।

सुरक्षा व्यवस्थामा कडाइ

निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन झण्डै ६ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान केन्द्रको संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्थापन गरिएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताएका छन्।

उनका अनुसार ५८७ मतदान केन्द्रमध्ये १४५ अति संवेदनशील, १०८ संवेदनशील र ५२ सामान्य श्रेणीमा राखिएका छन्। सोही वर्गीकरणअनुसार सुरक्षाकर्मी परिचालन गरिएको र मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरिएको छ।

नेपाल प्रहरीबाट १ हजार ६ सय, सशस्त्र प्रहरी बलबाट १ हजार २ सय, नेपाली सेनाबाट ८ सय र राष्ट्रिय अनुसन्धान विभागबाट ३५ जना परिचालित हुनेछन्। साथै निर्वाचन प्रहरीतर्फ नेपाल प्रहरीका २ हजार ६ सय ३८ र सशस्त्र प्रहरीका ३ सय ९८ जना खटिएका छन्।

सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी मिलेर मतदान केन्द्र, बजार क्षेत्र, भीडभाड हुने स्थान र सीमा नाकामा नियमित गस्ती गरिरहेका छन्।

क्षेत्रगत मतदाता विवरण

आगामी निर्वाचनमा बारामा कुल ४ लाख ६५ हजार ७ सय ८४ मतदाता छन्। तीमध्ये २ लाख ५५ हजार ७ सय ६३ पुरुष, २ लाख १० हजार ९ महिला र १२ जना तेस्रो लिङ्गी मतदाता रहेका छन्।

चारवटै निर्वाचन क्षेत्रमा गरी १ सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

  • क्षेत्र नं. १: १ लाख २३ हजार ९ सय ८५ मतदाता

  • क्षेत्र नं. २: १ लाख १३ हजार ८ सय ३९ मतदाता

  • क्षेत्र नं. ३: १ लाख १३ हजार ५ सय २१ मतदाता

  • क्षेत्र नं. ४: १ लाख १४ हजार ४ सय २९ मतदाता

क्षेत्र नं. ४ मा सबैभन्दा बढी ३७ जना उम्मेदवार चुनावी मैदानमा छन्।

निर्वाचन अधिकृतको जिम्मेवारी

निर्वाचनका लागि बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। उनले क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको जिम्मेवारी पनि सम्हाल्नेछन्।

क्षेत्र नं. १ मा जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, क्षेत्र नं. २ मा सर्वोच्च अदालतका उपरजिष्ट्रार किरणकुमार सिंह र क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भीर घिमिरे निर्वाचन अधिकृतका रूपमा कार्यरत छन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नविन चौधरीका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने लक्ष्यका साथ सबै निकाय समन्वयमा सक्रिय छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्