बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को घर तथा निर्माण कम्पनीको कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले सोमबार छापा मारेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीका आधारमा काठमाडौँबाट गएको विभागको टोलीले हेटौंडास्थित निवासमा करिब दुई घण्टा खानतलासी गरेको स्रोतले जनाएको छ। मध्याह्न करिब १२ बजे पुगेको टोली करिब २ बजे बाहिरिएको थियो।
त्यसैगरी, हेटौंडा–५ पिप्लेमा रहेको ‘बानियाँ निर्माण सेवा (बीएनएस)’ कम्पनीको कार्यालयमा पनि छापा मारिएको छ। ७ सदस्यीय टोलीले घर तथा कार्यालयबाट केही कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ, तर कागजातको विवरण खुलाइएको छैन।
छापाका बेला मुख्यमन्त्री बानियाँ संसदीय दलको बैठकमा सहभागी रहेको र त्यहीँ रहँदा घटनाबारे जानकारी पाएको स्रोतले जनाएको छ। यस विषयमा उनले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्