अक्षरा पाठशाला सिमराको नवौँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागितामा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले गुणस्तरीय शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले कक्षा ५ को परीक्षा उपमहानगरपालिकाले नै सञ्चालन गर्ने जानकारी दिँदै पूर्वसूचना अनुसार परीक्षा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नगरस्तरीय मूल्याङ्कन प्रणालीले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।
साथै, उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मत माग्न आउने उम्मेदवारहरूसँग शिक्षा ऐन, शैक्षिक सुधार तथा स्थानीय विद्यालय विकाससम्बन्धी एजेन्डामा स्पष्ट धारणा माग गर्न अभिभावक र सरोकारवालालाई आग्रह गर्नुभयो।
कार्यक्रममा एस.पि.ई.एस.का प्रिन्सिपल वसन्त ढकालले नगरस्तरीय कक्षा ५ को परीक्षा सञ्चालनबारे फरक धारणा राख्नुभयो। हालको तयारी र पूर्वाधारलाई हेर्दा नगरस्तरीय परीक्षा सञ्चालन उपयुक्त नदेखिएको बताउँदै उहाँले परीक्षा सञ्चालनको समय परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। विद्यार्थीमैत्री वातावरणमा सिकाइलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
उपमहानगरपालिकाले यसअघि कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालन गरिसकेको सन्दर्भमा कक्षा ५ मा पनि परीक्षा सञ्चालन गर्ने तयारीले शैक्षिक क्षेत्रमा बहस सिर्जना गरेको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा अनुशासन क्षेत्रमा हासिल उपलब्धिहरू सार्वजनिक गर्नुभयो। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै शिक्षक र अभिभावकहरूको सहभागितामा गीत, संगीत तथा नृत्य प्रस्तुति गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि अभिभावकहरूको निरन्तर साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधारात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक ऋषि काफ्लेले गर्नुभएको थियो।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्