Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

वायु प्रदूषण बढ्यो : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा पछिल्लो समय वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पार्टिकुलेट म्याटर (PM2.5) को मात्रा निकै बढेको छ।

श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र प्रवेश गर्ने यी सूक्ष्म कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने उनले बताए। मन्त्रालयका अनुसार ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका तथा दीर्घरोगीहरू प्रदूषणको उच्च जोखिममा रहेका छन्, त्यसैले उनीहरूले विशेष सावधानी अपनाउन आवश्यक छ।

प्रवक्ता डा. बुढाथोकीले वायु प्रदूषणका कारण सामान्य आँखा दुख्ने, आँखा पाक्ने तथा दृष्टिमा समस्या देखिने मात्र नभई मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग र क्यान्सरसम्म हुने जोखिम रहने बताए।

बिहान–बेलुका बाहिर ननिस्कन सुझाव

प्रदूषणबाट बच्न मन्त्रालयले विशेषगरी बिहान र साँझको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ। यी समयमा हानिकारक कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन आग्रह गरिएको हो।

यदि बाहिर निस्कनै पर्ने अवस्था आएमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन तथा छालालाई प्रदूषणबाट जोगाउन शरीर छोपिने कपडा र टोपी प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ।

अन्य मन्त्रालयसँग समन्वय

वायु प्रदूषण न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले अन्य सरोकारवाला मन्त्रालयहरूसँग पनि समन्वय गरिरहेको जनाएको छ। प्रवक्ता बुढाथोकीका अनुसार उद्योग, भौतिक पूर्वाधार, कृषि, वन तथा वातावरण मन्त्रालयसँग प्रदूषण नियन्त्रणका उपायबारे निरन्तर छलफल भइरहेको छ।

सवारीसाधनबाट निस्कने धुवाँ, कलकारखानाको प्रदूषण, कृषिमा अत्यधिक विषादीको प्रयोग, जथाभावी फोहोर तथा प्लास्टिक जलाउने कार्य र वन डढेलो जस्ता कारणहरू नियन्त्रण नगरेसम्म वायु प्रदूषण पूर्ण रूपमा घटाउन कठिन हुने मन्त्रालयको भनाइ छ।

तत्कालका लागि भने प्रदूषणको प्रत्यक्ष असरबाट जोगिन व्यक्तिगत सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्