Wednesday, July 29, 2026
बुधबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

हिरासतभित्र जेनजीलाई धम्की दिएको आरोपमा सुधन गुरुङ घेराबन्दीमा, प्रहरीले भन्यो– भेट्न भने पुगेका थिए

सीमा विवादको विषयमा आन्दोलन गर्दै भारतीय दूतावास घेर्न पुगेका केही युवाहरूलाई २० जेठमा प्रहरीले नियन्त्रणमा लिएको थियो। लैनचौरस्थित भारतीय दूतावास नजिकबाट पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको थियो।

तर, हिरासतमा रहेका जेनजी अभियन्ताहरूले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङ आफैं हिरासतमा पुगेर धम्की दिएको आरोप लगाएका छन्। राष्ट्रिय जेनजी नागरिक अभियानले बिहीबार जारी गरेको विज्ञप्तिमा गुरुङले थुनुवा कक्षमै प्रवेश गरेर दुर्व्यवहार तथा मानसिक दबाब सिर्जना गरेको दाबी गरेको हो।

अभियानका अनुसार शान्तिपूर्ण रूपमा पम्पलेट वितरण गर्ने उद्देश्यले भारतीय दूतावास क्षेत्र पुगेका अभियन्ता अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई सोह्रखुट्टेमा राखिएको करिब एक घण्टापछि सुधन गुरुङ दलबलसहित थुनुवा कक्षमा प्रवेश गरेको आरोप विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार गुरुङले हिरासतमा रहेका युवाहरूसँग अस्वाभाविक, अमर्यादित र दबाबमूलक व्यवहार गरेका थिए। जेनजी अभियानले सार्वजनिक गरेको विवरणमा गुरुङले “तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ, यो अन्तिम मौका हो। अब सरकार र प्रहरीले समाते भने छोड्दैनौं। सरकारविरुद्ध बोल्न बन्द गर्नुस्” जस्ता अभिव्यक्ति प्रयोग गर्दै मानसिक दबाब सिर्जना गर्न खोजेको दाबी गरिएको छ।

प्रहरी हिरासतमा रहेका व्यक्तिलाई कुनै अनधिकृत व्यक्तिले पुगेर धम्क्याउनु गम्भीर विषय भएको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियानले घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।

यता, जेनजीहरूको आरोप सार्वजनिक भएपछि सुधन गुरुङ वास्तवमै हिरासतमा पुगेका थिए वा थिएनन् भन्ने विषयमा खोजी गर्दा उनी सोह्रखुट्टे प्रहरी वृत्त पुगेको तथ्य भने पुष्टि भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले सुधन गुरुङ सोह्रखुट्टे पुगेको स्वीकार गरेका छन्। “उहाँ त्यहाँ पुग्नुभएको हो। जेनजी भाइहरूलाई त्यहाँ राखिएको छ भन्ने थाहा पाएपछि भेट्न जानुभएको रहेछ,” भट्टराईले बताए।

तर, गुरुङले हिरासतभित्र के कुरा गरे, धम्की दिए वा दिएनन् भन्नेबारे प्रहरीले कुनै औपचारिक जानकारी नभएको जनाएको छ। एसपी भट्टराईका अनुसार गुरुङ भेट्न गएको जानकारी भए पनि भेटघाटका क्रममा भएको संवादबारे आफूहरू अनभिज्ञ छन्।

प्रहरी वृत्त सोह्रखुट्टे स्रोतले पनि गुरुङ त्यहाँ आएको र केही समय भेटघाट गरेर फर्किएको पुष्टि गरेको छ। तर थुनुवासँग भएको कुराकानीबारे जानकारी नभएको स्रोतको भनाइ छ।

“उहाँ आउनुभएको हो, भेटेर जानुभएको हो। तर उहाँहरूबीच के कुराकानी भयो भन्नेबारे हामीलाई थाहा भएन,” सोह्रखुट्टे वृत्त स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार गुरुङ आफ्नो व्यक्तिगत उजुरी, गुनासो वा अन्य प्रशासनिक कामका लागि प्रहरी कार्यालय पुगेका थिएनन्। उनले त्यहाँ कुनै निवेदन वा उजुरी दर्ता पनि गरेका थिएनन्। उनी हिरासतमा रहेका जेनजी अभियन्ताहरूलाई भेट्न मात्र पुगेको र केही समयपछि फर्किएको प्रहरीको भनाइ छ।

यस विषयमा प्रतिक्रिया लिन पूर्वमन्त्री सुधन गुरुङसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनीसँग सम्पर्क हुन सकेन।

प्रहरीले गुरुङको उपस्थितिलाई पुष्टि गरे पनि हिरासतभित्र भएको संवादबारे स्पष्ट धारणा सार्वजनिक नगरेको अवस्थामा जेनजी अभियानले लगाएको धम्कीको आरोप भने थप चर्चा र प्रश्नको विषय बनेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्