पछिल्ला दिनमा देशभर सडक दुर्घटना चिन्ताजनक रूपमा बढिरहेका छन्। दुर्घटनामा ठूलो जनधनको क्षति भइरहेको भए पनि दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी पहल हुन नसकेको भन्दै सर्वसाधारणले प्रश्न उठाउन थालेका छन्।
केवल १८ दिनको अवधिमा देशका विभिन्न स्थानमा भएका तीन ठूला सवारी दुर्घटनामा ४४ जनाभन्दा बढीले ज्यान गुमाएका छन्। सडकको अवस्था, सवारी साधनको प्राविधिक कमजोरी र चालकको लापरबाहीलाई मुख्य कारणका रूपमा औंल्याइए पनि समग्र कारण पहिचान गरेर दीर्घकालीन समाधान खोज्ने काम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।
प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार दुर्घटना बढ्न थालेपछि त्यसका कारणबारे विश्लेषण सुरु गरिएको छ। “दुर्घटनाका विभिन्न कारण हुन्छन्। सडकको अवस्था, सवारीको प्राविधिक पक्ष र चालकको लापरबाही प्रमुख कारण हुन्,” उनले भने, “धादिङको दुर्घटना सवारी अनियन्त्रित हुँदा भएको प्रारम्भिक निष्कर्ष छ। बढ्दो दुर्घटनाबारे विस्तृत अध्ययन भइरहेको छ।”
माघ २२ गते बैतडीको पुर्चौडी–७ बडगाउँमा, माघ २७ गते रामेछापको त्रिवेणीघाटमा र फागुन ११ गते धादिङको बेनिघाट रोराङ गाउँपालिकामा भएका दुर्घटनामा झण्डै चार दर्जनले ज्यान गुमाएका छन्।
पछिल्लो पटक धादिङको बेनिघाट रोराङ–५ भैंसेगौडामा पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस राति करिब १ बजे त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई काठमाडौं लगायत विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।
यसअघि माघ २२ गते बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको जन्ती बस दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए। केहीको घटनास्थलमै र अन्यको उपचारका क्रममा ज्यान गएको थियो।
त्यसको केही दिनमै माघ २७ गते काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको त्रिवेणीघाटमा दुर्घटना हुँदा १२ जनाको मृत्यु र ८ जना घाइते भएका थिए।
लगातार भइरहेका यस्ता भीषण दुर्घटनाले सडक सुरक्षा, सवारी अनुगमन र चालक अनुशासनबारे गम्भीर प्रश्न उठाएको छ। दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अनुगमन, कडाइका साथ कानुन कार्यान्वयन र दीर्घकालीन रणनीति आवश्यक देखिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्