प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को हालैको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाह को अभिव्यक्तिबीच कुनै तादम्यता (coordination) थियो वा थिएन भन्ने विषयमा प्रश्न उठाएको छ ।
सिंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा एमालेले उक्त विषय उठाएको एमाले प्रमुख सचेतक ऐन महरले जानकारी दिए । बैठक रास्वपा सभापति लामिछानेले आफ्नो भारत भ्रमणबारे जानकारी गराउन बोलाएका थिए ।
महरका अनुसार बैठकमा एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति र लामिछानेको भारत भ्रमणबीच कुनै समन्वय थियो कि थिएन भन्नेबारे प्रश्न राखेको हो ।
‘प्रधानमन्त्रीको स्टेटमेन्ट र तपाईंको भारत भ्रमणबीच तादम्यता थियो कि थिएन ? यस्ता विषय उठे कि उठेनन् ? भनेर हामीले कुरा राख्यौं,’ महरले भने ।
त्यसैगरी एमालेले भारतसँग जोडिएको सीमा विवादबारे पनि चासो व्यक्त गरेको छ । हालसम्म पनि सीमा अतिक्रमणका घटना भइरहेको भन्दै एमालेले यसबारे छलफल भएको थियो वा थिएन भन्ने प्रश्न उठाएको हो ।
‘अहिले पनि भारतले सीमा मिचिरहेको छ । उहाँ भारत भ्रमणमा हुँदा पनि मिचिएको छ । यसका बारेमा छलफल भयो कि भएन भनेर सोध्यौं,’ महरले बताए ।
बैठकमा एमालेले ईपीजी (प्रबुद्ध व्यक्ति समूह) प्रतिवेदनबारे पनि छलफल भएको थियो वा थिएन भन्ने विषयमा समेत प्रश्न उठाएको जनाएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्