Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

लोकतान्त्रिक मूल्य र नीतिगत स्थिरतामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन शाह

 प्रधानमन्त्री बालेन शाह ले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, राजनीतिक स्थिरता र नीतिगत निरन्तरताका लागि आफ्नो सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल भ्रमणमा रहेका युरोपेली मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा प्रधानमन्त्री शाहले नयाँ सरकार गठन भए पनि विगतका सकारात्मक नीतिहरूलाई निरन्तरता दिइने स्पष्ट पारे। उनले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य बनाइने बताए।

प्रधानमन्त्री शाहले सरकारको मुख्य लक्ष्य नेपाली नागरिकको दैनिक जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउनु रहेको उल्लेख गरे। सुशासन, समावेशी आर्थिक समृद्धि र विकासलाई प्राथमिकतामा राख्दै सरकार अघि बढिरहेको उनको भनाइ थियो।

उनले हालै सम्पन्न निर्वाचनले सुशासन र आर्थिक सुधारका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नयाँ सरकार आए पनि नीतिगत स्थिरता कायम रहने बताए। नेपाललाई विश्व बजारसँग जोड्दै विदेशी लगानी आकर्षित गर्न प्रक्रिया सहज बनाइने, नवप्रवर्तनलाई प्रोत्साहन गरिने र दिगो विकासलाई प्राथमिकता दिइने पनि उनले बताए।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने स्पष्ट पार्दै छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिमा आधारित रहने धारणा राखे।

उनले नेपालको विकासमा सहयोग पुर्‍याउँदै आएका विकास साझेदार राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।

विश्वका विभिन्न क्षेत्रमा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले शान्ति स्थापनाका लागि सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

भेटमा सहभागी युरोपियन युनियन तथा अन्य युरोपेली मुलुकका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै प्रधानमन्त्री शाहलाई नयाँ सरकारको नेतृत्वका लागि बधाई दिएका थिए। उनीहरूले आर्थिक विकास र समृद्धिका विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी गर्न आफूहरू तयार रहेको पनि बताएका थिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्