Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर एकै चरणमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने स्पष्ट पारेकी छन्। भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताइन्।

 

मतपत्र छपाइ प्रक्रिया अवलोकनपछि उत्साहित देखिएकी प्रधानमन्त्री कार्कीले भनिन्, “मतपत्र छपाइ हेर्दा मलाई निकै उत्साह जाग्यो। अब निर्वाचन आयो, जनताले छाप लाउन मात्रै बाँकी छ। प्रेसका कर्मचारीहरूले अत्यन्तै राम्रो काम गर्नुभएको छ।” निर्वाचनका चार खम्बामध्ये निर्वाचन आयोग प्रमुख आधार भएको उल्लेख गर्दै उनले देशभर चुनावी माहोल बनेको बताइन्।

 

प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईंहरू निश्चिन्त हुनुहोस्, चुनाव तोकिएकै मितिमा, एकै दिन र एकै चरणमा हुन्छ। कतै पनि दुई चरणमा मतदान हुने छैन।” फागुन २१ गते मौसम पनि अनुकूल हुने विश्वास व्यक्त गर्दै उनले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनेमा सरकार पूर्ण रूपमा विश्वस्त रहेको बताइन्।

 

सबै नागरिकले निर्भय रूपमा मतदान गर्न पाउने वातावरण बनेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको नतिजापछि नयाँ सरकार गठन हुने र वर्तमान सरकारले सहज रूपमा सत्ता हस्तान्तरण गर्ने बताइन्। “सबै परिणाम आएपछि नयाँ सरकार बन्छ, हामी सरकार हस्तान्तरण गरेर आ–आफ्ना घर फर्कन्छौँ,” उनले भनिन्।

 

यसैबीच, मतपत्र छपाइ अनुगमनपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशभर चुनावी वातावरण बन्दै गएको बताएका छन्। उनले विगतमा मुलुक गम्भीर सङ्कटमा परेको स्मरण गर्दै हाल राजनीतिक हिंसा र द्वन्द्व क्रमशः कम हुँदै गएको बताए।

 

“तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्दछु,” गृहमन्त्री अर्यालले भने। वर्तमान सरकार नागरिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आउँदो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न थप सुदृढ सुरक्षा व्यवस्था गरिएको जानकारी दिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्