Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

निजगढको होटलमा युवती मृत भेटिइन्, एम्बुलेन्सको बहाना बनाएर फरार भएका युवक पक्राउ

बाराको निजगढस्थित एक होटलमा २५ वर्षीया युवती शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा शुक्रबार राति भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।

मृतक सीता थिङ्ग निजगढ नगरपालिका–१२ निवासी हुन्। प्रहरीका अनुसार उनी आफ्ना तीन जना साथीसँग होटल पुगेकी थिइन्। होटलको सीसीटिभी फुटेजमा उनीहरू शुक्रबार साँझ करिब साढे सात बजे होटल प्रवेश गरेको देखिएको छ।

होटलमा मदिरा सेवन र खाना खाएपछि सीता जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीका ३५ वर्षीय महेश माझीसँग एउटै कोठामा बसेकी थिइन् भने अन्य दुई जना अर्को कोठामा थिए।

राति करिब ११ बजे सीता अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल निजगढ सामुदायिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको घाँटीमा दाग देखिएकाले घटना शंकास्पद रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताएका छन्।

प्रहरीका अनुसार घटनापछि महेशले “सीताले बाथरुममा झुण्डिने प्रयास गरिन्” भन्दै एम्बुलेन्स बोलाउन जाने बहाना बनाएर होटलबाट मोटरसाइकलमा फरार भएका थिए। उनीसँगै आएका अर्का युवक पनि घटनास्थलबाट भागेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर समेत रातिनै निजगढ पुगेका थिए।

प्रहरीले घटनास्थलमा रहेकी सीताकी साथीलाई नियन्त्रणमा लिएर बयान लिएको थियो। बयानका आधारमा फरार भएका व्यक्तिको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। खोजीका क्रममा एक युवक जंगल क्षेत्रबाट पक्राउ परेका थिए भने मुख्य आरोपी मानिएका महेशलाई शनिबार बिहान निजगढ–७ माझी टोलस्थित आफन्तको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको छ। मृतक सीताको शव पोस्टमार्टमका लागि पठाइएको छ। प्रहरीले शल्य परीक्षण रिपोर्टपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्