शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
भेटका क्रममा शिक्षा क्षेत्रमा बेलायत सरकारबाट भइरहेका सहयोगलाई निरन्तरता दिने, शिक्षकको पेशागत क्षमता विकास गर्ने तथा सातै प्रदेशमा सञ्चालन गर्न लागिएको अटिजम विद्यालयका लागि सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको छ ।
मन्त्री पोखरेलले शिक्षा सुधार, शिक्षक क्षमता अभिवृद्धि र अटिजम विद्यालयका लागि स्रोत तथा जनशक्ति विकासमा बेलायत सरकारको निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
त्यस्तै, राजदूत फेनले नेपालको शिक्षा, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहकार्यलाई अझ विस्तार गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
भेटमा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने, शिक्षक क्षमता विकासमा सहकार्य गर्ने तथा ट्रान्सनेशनल शिक्षा (Transnational Education) को सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्