नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याजपीडित र सरकारबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै सरकारले पीडितहरूलाई फेरि एकपटक धोका दिएको आरोप लगाएका छन्।
आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले तत्कालका लागि समस्या साम्य पारेजस्तो देखिए पनि केही समयपछि पीडितहरूले आफूहरू ठगिएको महसुस गर्ने दाबी गरे।
उनले सहमतिले मिटरब्याजपीडितको वास्तविक समस्या समाधान नगर्ने उल्लेख गर्दै सरकारले समस्या टार्ने प्रयास मात्र गरेको टिप्पणी गरे।
कार्यक्रममा अध्यक्ष ओलीले देशको वर्तमान आर्थिक अवस्थाबारे पनि चिन्ता व्यक्त गरे। सरकारले संकटग्रस्त अर्थतन्त्रलाई सुधार गर्न प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउँदै उनले अर्थतन्त्र डुबेको छैन भन्ने देखाउन गलत नीति अवलम्बन गरिएको दाबी गरे।
ओलीका अनुसार सरकारका अदूरदर्शी आर्थिक नीतिका कारण मूल्यवृद्धि र करको भार बढ्दै गएको छ, जसले गरिब तथा मध्यमवर्गीय नागरिकलाई थप आर्थिक संकटमा धकेल्ने जोखिम रहेको छ।
उनले सरकारलाई जनताको आर्थिक समस्याप्रति गम्भीर बन्न र दीर्घकालीन समाधानमुखी नीति अपनाउन आग्रह गरेका छन्.
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्