शनिबार साँझ आएको भीषण हावाहुरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ मा ठूलो क्षति पुर्याएको छ । हावाहुरीका कारण सयौं परिवार प्रभावित बनेका छन् भने धेरै स्थानीय अहिले बिचल्लीमा परेका छन् ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज का अनुसार बिरेदमार, मुलखोला, चकरी र नयाँबस्ती क्षेत्रमा रहेका घरहरूमा व्यापक क्षति पुगेको हो । बिरेदमार क्षेत्रमा मात्रै २६ वटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
हावाहुरीले केही घर पूर्ण रूपमा भत्काएको छ भने धेरै घरका छाना उडाएको स्थानीयले बताएका छन् । अचानक आएको हुरीका कारण घरविहीन बनेका परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।
क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि वडा नं. २२ मा मात्रै सयौं स्थानीय प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । जनप्रतिनिधि, प्रहरी र स्थानीयको संयुक्त टोलीले प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन गरिरहेको छ ।
यसैबीच बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रहवर अंसारी आइतबार प्रभावित बिरेदमार बस्तीमा पुगेका छन् । उनले स्थानीयसँग भेट गर्दै हावाहुरीबाट भएको क्षतिको निरीक्षण गरेका थिए ।
निरीक्षणपछि अंसारीले पीडित परिवारलाई आवश्यक सहयोगका लागि आफू स्थानीयसँगै रहेको आश्वासन दिएका छन् ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्